भारत एसिया कप क्रिकेटको फाइनलमा

Posted on: April 30, 2016 | views: 244

एजेन्सी,फागुन १९ । श्रीलंकालाई हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा चलिरहेको प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा श्रीलंकालाई पाँच विकेटले हराउँदै भारत एक खेल अगाबै फाइनल प्रवेश गरेको हो । शेरेबंगला रंगशाला मिरपुरमा पहिले व्याटिङ गरेको श्रीलंकाले दिएको एक सय ३९ रनको लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।  भारतका लागि विराट कोहलीले नटआउट ५६ रन बनाए । उनले ४७ बलमा सात चौकाको मद्दतमा ५६ रन बनाएका हुन् । 

यस्तै युवराज सिंहले १८ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ३५, सुरेश रैनाले २६ बलमा २५ तथा रोहित शर्माले १४ बलमा १५ रन बनाए । श्रीलंकाका नुवन कुलशेखरले दुई विकेट लिए । यसअघि मिरपुरमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ३८ रन बनायो । उसका लागि चामरा कापुगेडेराले ३०, मिलिन्डा सिरिवर्दनाले २२, एन्जेलो म्याथ्युज र तिलकरत्ने दिलशानले समान १८ तथा थिसरा परेराले १७ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन । भारतका रविचन्द्रन आश्विन, हार्दिक पाण्डेय, जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । भारतले बिहीबार संयुक्त अरब इमिरेट्स युएईसँग खेल्नेछ ।