बुढासुब्बा गोल्डकप :कालिंपोङलाई हराउँदै पुलिस सेमिफाइनलमा

Posted on: May 01, 2016 | views: 239

धरान, फागुन १८ । अठारौं अन्तर्राष्टि्रय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लवले पाहुना टोली शेरे क्लव कालिङपोङलाई ३–० गोलले हराउँदै सुखद यात्रा सुरु गरेको छ। पुलिस अन्तिम चारमा प्रवेश पाएसँगै रुपन्देही ११ को सामना गर्ने भएको छ। पुलिस बुढासुब्बाको सर्वाधिक विजेता टिमसमेत हो। हालै बिराट गोल्डकपसमेत उचालेको पुलिसको यो सिजनको यो तेस्रो प्रतियोगिता हो। पुलिसका लागि फ्रिकिकमार्फत रविन श्रेष्ठले गोल गर्दै अग्रता कायम गरे। उनको अग्रतालाई भरत साहले दोब्बर पार्दा हेम तामाङले अन्तिम गोल गर्दै जित निश्चित गरे।

यता पाहुना टोली शेरे खाली हात फर्कियो। रविनले पहिलो हाफको ४० औं मिनेटमा झण्डै ३० यार्डबाट गरेको फ्रिकिक प्रहारमा विपक्षी गोलरक्षक थोरै बिट हुँदा गोललाइनमा बल अडिदा गोल दिइएको थियो। खेलको ७० औं मिनेटमा सुमन लामाको छोटो पासलाई भरत साहले डिबक्सबाट दोस्रो बार च्याप्दै गरेको प्रहार पोलमा ठोक्किदै हेर्न लायक गोल गरे। खेलको ८५ औं मिनेटमा भरत साहको क्रस पासलाई म्यान अफ दि म्याच हेम तामाङ कति पनि चुकेनन्।

पहिलो हाफमा पुलिसको खुट्टामा बल आउन नसके पनि दोस्रो हाफ केही लयमा फर्किदै स्कोरहरु निकालेको थियो। पुलिसले दोस्रो हाफमा केही दवावमा राख्न सफल भएको थियो। पुलिसले खेलको १२ औं, ३७ औं, ४८ औं, ४९औं, ५६आंै, ६५ औं मिनेटमा पाएको अवसर खेर गयो।

पुलिसक प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीहरुको प्रदर्शनबाट ५० प्रतिशत मात्रै सन्तुष्ट भएको बताए। उनले ग्राउण्ड र पहिलो खेल भएकाले पनि कतिपय कुरामा खेलाडीहरु तालमेल मिलाउन नसकेको बताए। पुलिसका कप्तान जुमानु राई चोटकारण बेन्चमा थिए। त्यस्तै भोला सिलवाललगायतका खेलाडीहरुसमेत उपस्थित थिएनन्। …३–४ जना राम्रा खेलाडीहरु आज खेलेनन्।' उनले भने …अघिल्लो गेममा हाम्रा सबै खेलाडीहरु हुनेछन्।'

पाहुना टोली शेरेलेसमेत खेलेको १२ औं मिनेट, ५४ मिनेट र ८८ आंै मिनेटमा सुन्दर अवसर प्राप्त गरेको थियो। उक्त अवसर गुम्दा बराबरी गर्ने मौका हातबाट गुम्यो। खेलको १२ औं मिनेटमा सोनम लेप्चाको कर्नर बललाई चोय टेसिरिङ लेप्चाको हेडलाई पुलिसका रक्षापंक्तिका खेलाडी सुरज बिकेले सुन्दर बचाउ गरे। ५४ औं मिनेटमा इसाक लेप्चाको क्रस पासलाई सन्दीप सुब्बाले रोक्दै गरेको प्रहार गोलपोष्टको माथिल्लो बारबाट बारिरियो। ८८ औं मिनेटमा बसन्त राईको प्रहार पुलिसका गोलरक्षकको हातबाट रिवन्स हुँदा चोय टिसिरिङ चुके।

टिमवर्कको तालमेल नमिल्दा खेरी हार बेहोर्नु परेको प्रशिक्षक चन्द्रबहादुर राईले बताए। उनले पुलिस राम्रो टिम हुँदा हुँदै पनि आफ्ना खेलाडीहरुले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए। भोलीको खेल लक्ष्मी हुण्डाई मनाङ मर्स्याग्दी र साविक विजेता एपिएफ काठमाडौं बिच हुँदै छ।
setopati.com