प्रतिभालाई सहयोग रकम हस्तान्तरण

Posted on: July 18, 2016 | views: 353

काठमाडौं, साउन ३ । पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइसको मनोनयनमा परेकी भलिबलकी खेलाडी प्रतिभा मालीलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिले नगद १० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग रकम काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र कार्यलय प्रमुख लिलाराम बस्नेतले खेलाडी प्रतिभा मालीलाई सोमबार हस्तान्तरण गरेका छन् । 

सहयोग रकम हस्तान्तरण गरेपछि समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसको मनोनयन परेका भलिबलकी प्रतिभा माली काठमाडौं बासी भएका कारण जिताउनका लागि केही रकम सहयोग गरिएको बताए । ‘यो खेलकुद विकास समितिको तर्फबाट सानो सहयोग हो, आशा छ उनले नै पिपुल्स च्वाइसको अवार्ड जित्नेछन् ।’ अध्यक्ष न्यौपानेले भने, ‘विद्यालय स्तरमा अध्ययनरत प्रतिभा प्रतिष्ठित अवार्डको मनोनयनमा पर्नु नै ठुलो कुरा हो । यो नै विद्यालयमा अध्ययनरत सबैको विजय हो ।’

यस्तै मनोनयनमा परेकी प्रतिभा मालीले सहयोग रकम लिएपछि समितिलाई धन्यवाद दिदै जसले जितेपनि खेल क्षेत्रले जित्ने बताईन् । ‘मनोनयनमा पर्नुमा नै खुशी छु ।, उनले भने । 

हस्तान्तरण कार्यक्रममा समितिका सदस्यद्धय देवेन्द्र तन्डुकर र भगवान प्रजापति र विद्यालयका प्रिन्सिपल कुमार राई र भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीको पनि उपस्थिति रहेको थियो । 

पिपुल्स च्वाइसको मनोनयनमा भलिबलकी प्रतिभा मालीसँगै फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, टेवल टेनिसकी नवीता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन परेकी छन् । पिपुल्स च्वाइसको अवार्ड एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा छनोट गरिनेछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने १२ औं संस्करणको स्पोर्टस यही साउन ६ गते हुदैछ ।