प्याब्सन यु–१६ बास्केटबल भोलिदेखि

Posted on: July 14, 2016 | views: 117

काठमाडौं,असार ३० । काठमाडौं प्याब्सनको आयोजनामा सातौं विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितालाई फन भ्याली प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको समापन पछि खेलाडीको प्रदर्शनका आधारमा १५ सदस्यीय ‘ड्रिम टिम’ तयार गरिने र सोको नामवली नेपाल बास्केटबल संघलाई बुझाइने अध्यक्ष गुरुङले बताए ।

‘प्रतियोगिता समाप्त भएपछि खेलाडीको प्रदर्शनका आधारमा हामी १५ खेलाडी समावेश गराइ ‘ड्रिम टिम’ तयार गर्ने छौं ।’ अध्यक्ष गुरुङले भने– ‘टिम तयार गरेपछि नामवली बास्केटबल संघलाई बुझाउने छौं । यसले आगामी दिनमा हुने यु–१६ उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीको छनोट गर्दा संघलाई पनि सहयोग पुग्न विश्वास लिएका छौं ।’ प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुने प्रतियोगिता संयोजक अनन्त कुँवरले जानकारी गराए । साउन ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल र सेमी कभर्डहलमा हुनेछ ।