प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद सुरु

Posted on: July 11, 2016 | views: 129

काठमाडौं,असार २७ । नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष डबल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन विश्वविद्यालय (टीयू) का उक्त जोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विश्वविद्यालयका लोचनराज न्यौपाने र डेनी खत्रीको जोडीलाई २१–३ र २१–११ को सोझो सेटमा पराजित गरे ।

महिला डबल्समा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका गंगा विष्ट र हेमा जोशीको जोडीले पूर्वाञ्चल विश्वविद्यालयका अन्जु सुवेदी र नीता पोखरेलको जोडीलाई २१–१५ र २१–५ को सीधा सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।


पुरुष सिंगल्समा नीरविक्रम, जीवनसहित काठमाडौंका विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा गंगालगायत कृषि तथा वन विज्ञान विश्वविद्यालयकी अस्मिता सुवेदी र सोनिया गुरुङ तथा केयुकी ज्ञानु गिरीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।