क्यानको सम्पूर्ण जिम्‍मा सीईओलाई

Posted on: May 01, 2016 | views: 288

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सञ्चालनको सम्पूर्ण अधिकार प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेलाई दिएको छ।

क्यानको पुरानो कार्यसमितिको समयावधि सकिएको र हालै निर्वाचित कमिटीलाई राखेपले मान्यता नदिएका कारण अर्को निर्देशन नहुँदासम्म दैनिक कामकारबाही सञ्चालन गर्न घिमिरेलाई जिम्मेवारीसहितको पत्राचार गरिएको जानकारी राखेपका खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापाले दिए।

राखेपले क्यान सञ्चालनका लागि सम्पूर्ण जिम्मेवारीसहितको पत्र सोमबार नै भावनालाई दिएको कुलबहादुरले बताए। भावनालाई दिइएको पत्रमा 'क्यानको कार्यसमितिको कार्यकाल सकिएको र हालै भएको भनिएको निर्वाचनलाई राखेपले मान्यता नदिएकाले अर्को निर्देशन नहुँदासम्म दैनिक काम कारबाही सञ्चालन गर्नू' भनी उल्लेख गरिएको छ।

राखेपले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) सँग समन्वय गर्र्न, खेलकुद प्रतियोगिताहरू आयोजना गर्न, आर्थिक कारोबारलगायतका कार्य गर्दा राखेपसँग परामर्श र स्वीकृति लिएर गर्न पत्रमा निर्देशन दिएको छ। राखेपले भावनालाई जिम्मेवारी दिइएको पत्रको बोधार्थ युवा तथा खेलकुद मन्त्रालयमा पनि पठाएको छ।

 

राखेपले हालै चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित क्यानको कार्यसमितिलाई मान्यता दिएको छैन। राखेप अहिले एमालेका केन्द्रीय स्तरका नेताको संयोजकत्वमा क्रिकेटको छुट्टै बोर्ड गठन गर्ने तयारी गरिरहेको छ।

राखेपको निर्वाचन प्रतिनिधि बिना नै हालै सम्पन्न क्यानको निर्वाचनबाट निर्वाचित पदाधिकारीले भने स्वायत्ता संघमाथि राखेपले राजनीतिक हस्तक्षेप गर्न लागेको आरोप लगाउँदै आएका छन्।क्यानको उक्त निर्वाचनप्रति तत्कालीन अध्यक्ष टंक आङ्बुहाङलगायतका पदाधिकारीले पनि असहमति जनाउँदै आएका छन्। 

अध्यक्ष आङ्बुहाङलगायतका केही पदाधिकारी निर्वाचन प्रक्रियामा समेत सहभागी भएका थिएनन्। ती पदाधिकारीले प्रक्रिया नपुगेको भन्दै क्यानको निर्वाचन रोक्न राखेपसँग आग्रहसमेत गरेका थिए। 

राखेपले पनि निर्वाचन प्रक्रिया रोक्न क्यानलाई पटकपटक लिखित निर्देशन दिएको थियो। पुरानो क्यान कार्यसमितिको कार्यावधि पुस २ गते सकिएको थियो।