महिला डबल लिग भलिबलको उपाधि एपीएफलाई

Posted on: April 30, 2016 | views: 271

काठमाडौं: ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। 

एपीएफले मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै उपाधि हात पारेको हो। एपीएफले १६ खेलमा अपराजित यात्रा कायम राख्दै ४८ अंक जोडेर उपाधि एपीएफले आफ्नो पक्षमा पारेको हो।

तालिकाको दोस्रो स्थानमा आसिन न्यु डायमन्ड एकेडेमीको ४४ अंक छ। बुधबार हुने एपीएपलसँगको अन्तिम खेल जिते पनि न्यु डायमन्ड एकेडेमी ४७ अंकमा मात्र सीमित हुनेछ। 

त्यसैले अन्तिम खेल खेलिनुअघि नै एपीएफले उपाधि कुम्ल्याएको हो । मंगलबार भएको खेलमा एपीएफले दोहोरो जित हात पार्‍यो।पहिलो खेलमा एपीएफले पुलिस क्लबलाई २५-१६, २५-१५, २५-१७ को सोझो सेटमा पराजित गर्‍यो।

 यसैगरी दोस्रो खेलमा एपीएफले आर्मी क्लबलाई २५-१०, २५-१९, २५-१९ अंकले पाखा लगाउँदै उपाधि रक्षा गर्‍यो । मंगलबार नै भएको अर्को खेलमा नेपाल आर्मीले बुटवलको एभरेस्ट स्कुललाई २५-१३, २५-२१, २५-१५ को सोझो सेटमा हरायो।

ढोरपाटन स्पोर्टस् ट्रेनिङ क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मंगलबार सकिनेछ। यो प्रतियोगिता नेपालको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हो। 

प्रतियोगिताको विजेताले दुई लाख ६० हजार र उपविजेताले एक लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी प्रतियोगितामा विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीले चारवटा स्कुटर पुरस्कार पाउने जानकारी आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले दिए।