एफए कप उपाधि म्यानचेष्टर युनाइटेडले जित्यो

Posted on: May 22, 2016 | views: 212

९ जेड, काठमाडौ ।
इङ्लिस फुटबलमा प्रतिष्ठित प्रतियोगिताको रुपमा लिइने एफए कपको उपाधी म्यानचेष्टर युनाइटेडले जितेको छ ।

गएराती वेम्बले रंगशालामा भएको फाइनलमा क्रिष्टल प्यालेसलाई २-१ ले हराउदै म्यानचेष्टरले उपाधी उचालेको हो ।

खेलको ७८ औं मिनेटमा क्रिष्टल प्यालेसका जेसन पन्चियोनले पहिलो गोलको अग्रता लिएपनि लगत्तै ८१ औं मिनेटमा म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले गोल फर्काएर बराबर गराएका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल थपिएको अतिरित्त समयमा म्यान्चेस्टर युनाइटेडका जेसी लिङ्गार्डले एक गोल गर्दै खेलको छिनोफानो गरेका हुन् ।

सन् २०१३ मा तत्कालिन प्रशिक्षक सर अलेक्स फर्गुसनले क्लव छाडे यता म्यान्चेस्टर युनाईटेडको यो पहिलो उपाधि हो ।

जितसंगै म्यान्चेस्टर युनाईटेडले १२ औं पटक एफ।ए कपको उपाधि जित्न सफल भएको छ ।