आइपिएल  क्रिकेट: पञ्जावको दोश्रो जित,पटेलको ह्याट्रिक 

Posted on: May 03, 2016 | views: 144

एजेन्सी,बैशाख १९ इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा किंग्स इलेभेन पञ्जावले दोस्रो जित दर्ता गरेको छ ।  आइतबार भएको पहिलो खेलमा पञ्जावले शीर्ष स्थानको गुजरात लायन्सलाई २३ रनले हराउदै दोस्रो जित निकालेको हो । यो खेलमा अक्षर पटेलले ह्याट्रिक लिएका छन् । पछिल्लो २ संस्करणमा ह्याट्रिक लिने पहिलो र एक मात्र बलर उनी आइपिएलको इतिहासमा भने १४ औं हुन् । सन् २०१४ मा राजस्थान रोयल्सका सेन वाट्सनले ह्याट्रिक लिए यता आइपिएलमा कुनै पनि बलरले ह्याट्रिक लिन सकेका थिएनन् । आइपिएलमा पञ्जावले लिएको यो तेश्रो ह्याट्रिक हो । यसअघि युवराज सिंहले २ पटक ह्याट्रिक लिएका थिए ।
२२ वर्षे पटेलले राजकोटमा भएको गुजरात लायन्स विरुद्धको खेलमा दिनेश कार्तिक (२), ड्वेन ब्राभो (०) र रबिन्द्र जडेजा (११) लाई आउट गरेर ह्याट्रिक लिएका हुन् । उनले ६ दशमलव ५, ६ दशमलव ६ र १० दशमलव १ ओभरमा विकेट लिएका हुन् 

उनको यो  ह्याट्रिक सँगै अंक तालिकाको पुछारमा रहेको पञ्जावको सातौ खेलमा यो दोश्रो जित हो । डेबिड मिलरलाई हटाएर मुरली विजयलाई कप्तान बनाएको पञ्जावलाई नयाँ कप्तानले पहिलो खेल नै जिताएका हुन् । जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

अक्षर पटेलले ह्याट्रिकसहित चार विकेट लिएको खेलमा गुजरातका ब्याट्सम्यान दवावमा रहे । गुजरातका जेम्स फुल्कनरले ३२ तथा इशान किसानले २७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १ बल बाँकी छँदा सबै १० विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उसका लािग कप्तान मुरली विजयले ५५ रन बनाए भने रिद्धिमन शाहले ३३ तथा डेभिड मिलरले ३१ रन बनाएका थिए ।