मनाङ मर्स्याङदीले आर्मीलाई लजास्पद हराउँदै पोखरा कपको उपाधि उचाल्यो

Posted on: May 02, 2016 | views: 361

११ बैशाख, पोखरा ।
पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ ।

कास्की जिल्ला फूटवल सङ्घको आयोजना र मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले हराउँदै उपाधि उचालेको हो ।

मनाङका अनिल गुरुङ र ओलावालेले समान दुई/दुई र सुजल श्रेष्ठले एक गोल गर्दा आर्मीले सान्त्वना गोल पनि फर्काउन सकेन ।

खेलको पहिलो र १० औँ मिनेटमा अनिलले, ३४ र ५० औं मिनेटमा ओलावालेले र ३० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

मनाङले शसस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लवले धरान ११ लाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

मनाङले उपाधिसहित रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता त्रिभुवन आर्मी क्लवले रु दुई लाख ५५ हजार ५५५ तथा शील्ड, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित मनाङका क्याप्टेन अनिल गुरुङले एक थान मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, उत्कृष्ट किपरमा मनाङकै किरण चेम्जोङ, उत्कृष्ट डिफेन्डरमा त्रिभुवन आर्मीका विमल राना, सर्वाधिक पाँच÷पाँच गोल गर्ने गोलकर्ता शसस्त्र प्रहरीका रञ्जन विष्ट र मनाङका ओलावालेले जनही रु १५-१५ हजार नगद प्राप्त गरे ।