आर्मी पोखरा कपको फाइनलमा, उपाधि भिडन्त मनाङसँग

Posted on: April 30, 2016 | views: 175

पोखरा,बैशाख २० । नवयुग श्रेष्ठको निर्णायक गोलले नेपाल आर्मी क्लब मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न त्रिभुवन आर्मी र धरान फुटवल क्लव बीच भएको खेलमा आर्मीले धरानलाई १–० ले पराजित गर्दै आर्मीले मनाङ सगँको भेट पक्का गरेको हो। खेलको ५० औं मिनेटमा गरेको गोल नै आर्मीको लागि निर्णायक गोल बन्यो । अब उसले उपाधिका लागि मनाङसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।  

आर्मी र मनाङ पछिल्लो ३ महिनामा दोश्रो पटक पोखरामा उपाधिका लागि भिड्न लागेका हुन् । यसअघि माघमा आहा ! रारा गोल्डकपको उपाधिका लागि दुई टोली आमनेसामने भएका थिए, जसमा मनाङले १-० को जित निकालेको थियो । प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने आयोजक कास्की जिल्ला फुटवल संघले जनाएको छ ।