गेटाफेको पोष्टमा रियलको ५ गोल,बार्सिलोना भन्दा एक अंकले मात्रै पछि 

Posted on: May 02, 2016 | views: 205

एजेन्सी,बैशाख ५ । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल मड्रिड गेटाफेलाई हराउँदै ला लिगा फुटबलको दोस्रो स्थामा उक्लिएको  छ। ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई ५–१ ले  पराजित गर्दै रियल लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। जितसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी एकमा झारेको छ। २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिएको थियो । बेन्जिमाले यो सिजन ला लिगामा २२ गोल गरिसकेका छन् ।

४० औं मिनेटमा इस्कोले रियलको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको रियलका लागि ५० औं मिनेटमा ग्यारेथ बेलले अर्को गोल गरे । बेलले यो सिजन ला लिगामा १६ गोल गरेका छन् । ८३ औं मिनेटमा गेटाफेका साराबिएले गोल गरेपछि खेल ३–१ को अवस्थामा आयो । त्यसको पाँच मिनेटपछि जेम्स रोड्रिग्वेजले गोल गर्दै रियलको अग्रता ४–१ मा पुर्‍याए । इन्जिुरी समयमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई ५–१ को जित दिलाए ।
 
जितपछि रियल मड्रिड ३३ खेलबाट ७५ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ७६ अंक छ भने तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३२ खेलबाट ७३ अंक छ।