नेपाली क्रिकेटलाई निलम्बन गर्ने संकेत  

Posted on: May 02, 2016 | views: 501

काठमाडौं,फागुन ९ । काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरुलाई पत्र पठाइ बाध्यकारी कदम चाल्न आइसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । आइसीसीका ग्लोवल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राखेप सदस्य सचिव केशकुमार विष्ट, क्यानका अध्यक्ष रमेश सिलवाल र अशोकनाथ प्याकुरेलको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको आजको कान्तिपुर दैनिकमा खबर छ । मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो। 

आफ्नो स्वीकृतिविना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन। प्याकुरेल त्यही क्यानका महासचिव हुन् । १८ पुसमा राखेपले सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । त्यसविरुद्ध प्याकुरेल सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो जसको अझै निर्णय भएको छैन । 

एन्डरसनको पत्रमा भनिएको छ–नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी अझै स्पष्ट हुन सकेका छैनौं । यो स्थिति समाधान नभएपछि नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको हिसाबमा कार्य गर्न पाउने छैन । यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । यो रहेसम्म नेपाली क्रिकेटले ठूलै मूल्य चुकाउनुपर्नेछ ।’ एन्डरसनले अगाडि भनेका छन्, ‘आइसिसी बोर्डलाई यो विषयमा अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ र स्थिति यही रहिरहेमा आइसिसी बोर्डले क्यानको निलम्बनसम्मको कारवाही गर्न सक्नेछ ।’