युरोपा लिग : नकआउट चरणको पहिलो लेगमा म्यानयु पराजित

Posted on: May 02, 2016 | views: 394

एजेन्सी,फागुन ७ । म्यानचेस्टर युनाइटेड युरोपा लिग अन्तर्गतको नकआउट चरणको पहिलो लेगमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड डेनिस क्लब मिटेल्याण्डसँग २–१ ले पराजित भयो । ३७ औं मिनेटमा मेम्फिस डिपेले दिलाएको सुरुवाति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड पराजित भयो । मिटेल्याण्डका लागि पाएन सिस्टो र पल अनुएचीले एक एक गोल गरे । 

युरोपा लिगको अन्तिम ३२ अर्थात नकआउट चरण अन्तर्गतको बिहीबार राति भएका अरु पहिलो लेगका खेलमा टोटनह्यामले फियोरेन्टिनासँग १–१, लिभरपुलले अगस्बर्गसँग गोलरहित तथा गालाटासारेले लाजियोसँग १–१ को बराबरी खेले । यस्तै भ्यालेन्सियाले रापिड भिएन्नालाई ६–०, बोरुसिया डर्टमुण्डले पोर्टालाई २–०, सेभिल्लाले मोल्डेलाई ३–० र भिल्लारियलले नापोली, एन्डरलेक्टले ओलम्पिकास तथा एथ्लेटिको बिल्बाओले मार्सेलिलाई समान १–० ले हरायो । यस्तै स्पोर्टिङ बरागाले सिओनलाई २–१ र एटिएन्नेले बासेललाई ३–२ ले हरायो ।