प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको तयारी पूरा

Posted on: February 07, 2020 | views: 3242

विदुर । पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत समापन गर्ने ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिता सञ्चालनको लागी आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । पञ्चकन्या गाउँपालिकाको वडा नं. २ पुारनीडाँडा स्थित प्रतियोगिता सञ्चालन गर्न लागिएको कालिका माविमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’, उपाध्यक्ष सिता पराजुली, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, वडा नं. १ का वडाध्यक्ष एंव प्रतियोगिताको प्रचार प्रसार समितिका संयोजक मणिनाथ घिमिरे, वडा नं. २ का वडाध्यक्ष धुव्र मिश्र लगायतका प्रतियोगितासंग सम्बन्धित सरोकारवालाहरुले पत्रकार सम्मेलन मार्फत आवश्यक तयारी पूरा भएको बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा गाउँपालिकाको अध्यक्ष रमेश तामाङको अनसार २५ गते अपरान्ह पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटनको हुने र २८ गते काँग्रेसका बरिष्ठ नेता एंव पूर्व उपप्रधानमनत्री रामचन्द्र पौडेलबाट समापन गर्न लागिएको प्रतियोगिताको लागी खेल मैदान, आयोजना र समापन गरिने स्थान, प्रतियोगितामा सहभागि हुने सबै समूह र अतिथी लगायतको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिइएको छ । ‘खेल मार्फत पालिकास्तरीय सम्बन्ध बृद्धि : स्वस्थ्य जनशक्ति, पर्यटन प्रबद्धन, विकास र समृद्धि’ भन्ने नारा सहित सञ्चालन गर्न लागेको प्रतियोगिताको लागी सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाको अध्यक्ष रमेश तामाङले बताउनुभयो ।

२५ गते शनिबारदेखि सञ्चालन गर्न लागेको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगितामा नुवाकोटको सूर्यगढी गाउँपालिका बाहेक जिल्लाको सबै स्थानीयतहबाट एक–एक समूह गरेर ११ समूहले प्रतिस्पर्धाको लागी नाम दर्ता गराएको उपाध्यक्ष सिता पराजुलीले जानकारी दिनुभयो । उहाँको अनुसार ११ समूह सहभागि भएको प्रतियोगिता ‘लिग चरण र नकआउट’ चरण मार्फत सञ्चालन गर्न लागिएको छ । उत्कृष्ट हुने समूहलाई एक लाख रुपैयाँ, दोश्रो हुने समूहलाई ७५ हजार रुपैया र तेश्रो हुनेलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको छ ।

यसैबीच, प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको अवसर बनाई १३औँ सागमा नेपाललाई पदक जिताउन सफल हुनुभएका पञ्चकन्या गाउँपालिकाबासी अनु अधिकारी र अनिता अधिकारी–भण्डारीलाई नगद पचास हजार रुपैयाँले सम्मान गर्न लागिएको छ । यस्तै, नुवाकोट जिल्लामा जन्मेर १३औँ सागमा पदक बिजेता भएका अन्य दशजना खेलाडी मध्ये स्वर्ण पदक बिजेतालाई १५ हजार र रजत पकद बिजेतालाई १० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले जानकारी दिनुभयो ।