राष्ट्रपति रनिङशिल्डमा गणेश मावि पहिलो

Posted on: January 22, 2020 | views: 1069

विदुर । सूर्यगढी गाउँपालिकाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हल्देकालिकाको गणेश माविले पहिलो स्थान हासिल गरेको छ । सोमबार सुरु भएर मंगलबार सम्पन्न भएको प्रतिस्पर्धामा सूर्यगढी गाउँपालिका वडा नं. ४ मा रहेको गणेश माविले ९ स्वर्ण, ९ रजत र ५ कास्य सहित पहिलो स्थान हासिल गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश गिरीले जानकारी दिनुभयो । 

उहाँको अनुसार प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित वडा नं. ४ कै कालिका माविले दोश्रो स्थान हासिल गरेको छ भने ६ स्वर्ण, ६ रजत र ३ कास्य सहित वडा नं. ३ मा रहेको बागेश्वरी माविले तेश्रो स्थान हासिल गरेको छ । 

प्रतियोगितामा गाउँपालिका भित्र रहेका माध्यामिक तहसम्म अध्यापन हुदै आएको ६ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा उत्कृष्ठ भएका विद्याथीलाई पुरस्कार प्रदान तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन गर्दै गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले खेल क्षेत्रको विकास तथा खेलाडी प्रोत्साहनको लागी लगानी तथा अवसरमा प्रथामिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले गाउँपालिकाले माध्यामिक तहसम्म अध्यापन गराउदै आएका सबै विद्यालयमा एक–एक जना खेलकुद शिक्षकलाई खेल प्रशिक्षकको रुपमा व्यवस्था गर्न लागिएको जानकारी गराउनुभयो ।