युएइलाई ४ विकेटले हराउँदै नेपाल विश्व क्रिकेट लिग डिभिजन-२ को शिर्ष स्थानमा

Posted on: February 11, 2018 | views: 4411
काठमाडौं । नेपालले युएइलाई ४ विकेटले पराजित गर्दै विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनल यात्रालाई सहज बनाएको छ । बर्षाका कारण तीनघण्टा ढिलो गरि सुरु भएको खेलमा युएइले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंगमा उत्रेको नेपालले निर्धारित लक्ष्य ६ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितको लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे । टस हारेर व्याटिंगमा उत्रेको नामिबियाको विन्डहक स्थित मैदानमा नेपालले ३१ ओभरमा युएइको सबै विकेट झारेको हो । वर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको छ । युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट लिए, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिएका थिए । पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातौं ओभरमा युएइका गुलाम सवारलाई १६ रनमा आउट गर्दै व्यत्तिगत दोस्रो विकेट हात पारे । आफ्नो नामको तेस्रो तथा खेलको नवौ विकेट लिने क्रममा मोहम्मद नामिदलाई १० रनमा आउट गरेका सोमपालले १० औं विकेटका लागि अमिद राझालाई ८ रनमा आउट गराउदै आफ्नो नाममा ४ विकेट लेखाए । आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिएका थिए । उनले युएइका गुलाम सवारलाई १६ रनमा आउट गरेका हुन् । चारौं,पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेको नाममा रह्यो । युएइका रमिज साहजलाई ४ रनमा आउट गरेका सन्दीपले मोहम्मद उस्मानलाई शून्य रनमा पेभेलिएनको बाटो देखाएका हुन् । यसअघि खेलेका दुई खेलमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेका दुवै देशलाई अंक तालिकाको शीर्ष स्थानमा रहन आजको खेल जित्नै पर्ने दबाव थियो । दबाबका बिच नेपाली टोलि जित निकालेर शिर्ष स्थानमा रहन सफल भएको छ ।