एजेन्सी ।
इटलीको फुटवल इतिहाँसमै पहिलो पटक महाप्रलय गएको छ । अर्थात् ६० वर्षमा पहिलो पटक इटली विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ ।
इटलीको लोकप्रिय पत्रिकाहरुले देशको फुटवलमा महाप्रलय गएको भन्दै चार पटकको विश्वकप विजेता टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएर विश्वकपमा छनौट हुन नसक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् ।
विश्वकप फुटवलको छनौट अन्र्तगत पहिलो चरणमा इटलीलाई १- ० गोल अन्तरले हराएको स्वीडेनले अब अर्को वर्ष रुसमा हुने विश्वकपमा सहभागिता जनाउन पाउनेछ ।
आँसुमा डुबेका इटलीका ३९ वर्षीय गोलरक्षक जानलुइजी बुफोनले टोलीका प्रशंसकहरुसँग माफी मागेका छन्।
विश्वकपमा छनौट हुन नसकेपछि इटलीको फुटवल टोलीका खेलाडीहरुको चर्को आलोचना भइरहेको छ । इटलीका व्यवस्थापक ज्यामपिएरो भेन्टुराले राजीनामा दिनसक्ने ठानिएको छ ।
स्विडेनसँगका दुई खेलमा एउटा पनि गोल गर्न नसकेकोमा विशेषगरि खेलाडीहरुको चर्को आलोचना भइरहेको छ ।