नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसन ११ लाई ८ विकेटले हरायो

Posted on: April 30, 2016 | views: 339

काठमाडौं,पुष २४ । विश्वकप क्रिकेटको तयारीमा रहेको १९ वर्षमुनिको नेपाली टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको  छ । धर्मशालामा शुक्रबार भएको खेलमा नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसन ११ लाई ८ विकेटले हराउदै दोस्रो जित हातपारेको हो ।  जितका लागि ३० ओभरमा १ सय ६८ रन बनाउनु पर्ने लक्ष्य पाएको नेपालले १४ बल अघि नै भेट्टायो । नेपाललाई जिताउन सुनिल धमलाले नट आउट शतक पुरा गरे । राजु रिजाल २६ रनमा नट आउट रहे भने योगेन्द्र सिंह कार्की ३५ रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको हिमाञ्चल प्रदेशले ३० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । नेपालका सुशील कँडेल र प्रेम तामाङले दुई–दुई तथा सुनिल धमला, सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसन ११ सँग यसअघि खेलेका २ खेलमा नेपालले एक खेल जितेको थियो भने अर्को खेल हारेको थियो । बंगालेशमा माघ ८ गतेदेखि सुरु हुने विश्वकप अघि नेपालले भारतमै अफगानिस्तानसँग दुई वटा अभ्यास खेल खेल्दै छ । नेपाल र अफगानिस्तानको १९ वर्षमुनिको टिमबीच पुस २७ र २९ गते दिल्लीमा २ वटा अभ्यास खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।