काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यातुकु कोजीले ताजिकिस्तानविरुद्ध हुने खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको छ ।
ए एफ सी यशियन कप छनोट अन्तर्गत ताजिकिस्तानसँगको खेल अखिल नेपाल फुटबल संघको सातदोबाटो स्थित मैदानमा मंगलबार हुनेछ ।
शनिबार घोषित नामावलीमा यस भन्दा अघिका ४९ वटा खेलमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका पूर्व कप्तान अनिल गुरुङ् अटाएका छैनन् ।
अनिल गुरुङको स्थानमा नेपाल आर्मी क्लबका जर्ज प्रिन्स कार्की पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका छन् ।
ए एफ सी छनोटमा नेपाल रहेको समूहमा फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।
नेपालले फिलिपिन्स र यमनसँग एक–एक खेल खेलिसकेको छ ।
नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने यमनसँग काठमाडौँमै भएको खेल गोल रहित बराबरीमा सम्पन्न भएको थियो ।
अहिलेसम्म भएका दुवै खेलमा जित हात पारेको फिलिपिन्स ६ अङ्क सहित शीर्ष स्थानमा रहेको छ ।
यसैगरी, यमनको ४ र नेपालको १ अङ्क रहेको छ भने ताजिकिस्तानले अहिलेसम्म कुनै अङ्क जोड्न सकेको छैन ।