यस्ता छन् अष्ट्रेलियालाई हराउने धोनीको ४ प्लान, होला त सफल ?

Posted on: May 03, 2016 | views: 234

एजेन्सी,चैत १४ । टी-२० अन्तर्गत आज आयोजक भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदैछ । यस अघिका ३ खेल मध्ये २ वटामा जित हात पारेपनि भारतको रनरेट प्रतिस्पर्धी अष्ट्रेलिया भन्दा कमजोर छ ।

यद्यपी खेल हारे प्रतियोगिताबाटै बाहिरिने खतरामा वान डे विश्वकप क्रिकेटको विजेता टोली अष्ट्रेलियालाई पनि उत्तिकै दवाव छ । अष्ट्रेलिया र भारतबीच सेमिफाइनल यात्राका लागि भिडन्त हुँदैछ जुन गर या मरको अवस्था हो। मोहालीमा हुने खेल जित्ने पक्ष विश्वकप सेमीफाइनलमा पुग्नेछ भने हार्ने पक्ष प्रतियोगिताबाट बाहिरिने छ । 

आयोजक राष्ट्रको भाग्य फैसला गर्ने खेल भएका कारण भारतीयहरुका लागि यो खेल फाइनल जत्तिकै महत्वपूर्ण छ । भारतीय कप्तान महेन्द्र सिंह धोनीले अष्ट्रेलिया विरुद्ध केही गेम प्लान बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

के हुन् त धोनीका ४ गेम प्लान ?


 
१. भारतीय टिमको रेकर्ड
टी-२० विश्वकपमा भारत अष्ट्रेलियामाथि हावी नै छ । अष्ट्रेलियामाथि भारतको करिव करिव शत प्रतिशत जितको रेकर्ड छ । अहिले सम्म टी-२० खेलमा भारत र अष्ट्रेलिया १२ पटक आमने सामने भएका छन् । जसमध्ये ८ खेल भारतले जितेको छ । अष्ट्रेलिया ४ पटक मात्र विजयी भएको छ । धोनीका लागि यो रेकर्ड बलियो हतियार हो । यही आधारमा उच्च आत्मविश्वाससहित मैदानमा खेलाडी उतार्ने धोनीको तयारी छ ।
२. रोहित शर्माको रेकर्ड
एकदिवसीय खेलमा भारतका ओपनर रोहित शर्माले दोहोरो शतक अष्ट्रेलिया विरुद्ध नै जोडेका थिए । अधिकाँश खेलमा रोहित शर्मा अष्ट्रेलिया विरुद्ध हावी नै हुने गरेका छन् । अष्ट्रेलिया विरुद्ध सबैभन्दा बलियो हतियार धोनीका लागि रोहित नै हुने छन् । धोनीले अष्ट्रेलियासँगको खेल अगाडी रोहितलाई विशेष ध्यान दिइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


३.युवराज सिंह एक्स फ्याक्टर
अष्ट्रेलिया विरुद्धको खेलमा भारतका लागि अलराउण्डर युवराज सिंह एक्स फ्याक्टर बन्न सक्छन् भन्ने धोनीको विश्वास छ । किन भने मोहाली युवराज सिंहको होम ग्राउण्ड हो । अहिले सम्म केवल एक टी(२० खेल मोहालीमा खेलेको भारतीय टिमका लागि युवराज सबैभन्दा विश्वासका आधार मानिएको छ । सन् २००९ मा श्रीलंका विरुद्ध युवराजले मोहालीमा निक्कै राम्रो पर्दर्शन गरेका थिए ।

४. स्पिनर पिच
अष्ट्रेलियासँगको हाइ भोल्टेज भिडन्त अगाडी आयोजक भारतले मोहाली क्रिकेट मैदानको पिच बदलेको छ । सेमिफाइनलको यात्रा सुनिश्चित गर्न भारतले मोहालीको पिचलाई स्पिनरका लागि तयार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय कप्तान महेन्द्रसिंह धोनीको डिजाइनमा यो पिच तयार पारिएको हो । धोनीले स्पिनरको माध्यमबाट खेल जित्ने गेम प्लान बनाएको समाचारमा जनाइएको छ ।
-nepaliheadlines.com