प्रचण्ड पुत्रीका कार्यकर्ताले च्यातेको भरतपुर विवाद न्यायाधीशका कारण अनिश्चित

Posted on: July 17, 2017 | views: 305


काठमाडौं ।

घरी समय नपुगेर त घरी पेशी तोकेर स्थगित हुँदै आएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रीका कार्यकर्ताले भरतपुर महानगर निर्वाचनमा च्यातेको मतपत्र विवाद सर्वोच्चले अझै अनिश्चित बनाइदिएको छ ।


यसपटक भने अदालतले भरतपुर प्रकरणमा सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश विदेश जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सार्ने भएको छ ।


न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमवार सुनुवाई सुरु भएको हो ।


सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्न भ्याए ।


उनले भरतपुर महानगरपालिकाको मतगणनास्थल अनाधिकृत कब्जा नभएको र ऐन पढेर मतपत्र च्यात्ने अपराध गरिएको जिकिर गरेका थिए ।


उनले प्रहरीको प्रतिवेदनमा पनि कब्जा भएको नभनिएको र निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पनि तत्काल दिएको बयानमा कब्जा नभनेको हुनाले अदालतले भविष्यमा यस्ता घटना हुन नदिन पनि ब्याख्या गरिदिनुपर्ने तर्क गरे ।


सोमबार बहस नसकिएकाले अब अर्को सुनुवाई साउन ८ गते हुने भएको छ ।


न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो ।


भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।


आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।


उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।


भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् ।


एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि करिव ९९ मतपत्र च्यातिएको थियो ।


पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए । एमाले उम्मेद्धार ज्ञवाली बिजय नजिक पुगेपछि माओवादीले योजनाबद्ध रुपमा मतपत्र च्यात्न लगाएको आरोप लाग्दै आएको छ ।


मेयर उम्मेदार रेणु दाहालका पीता पुष्पकमल दाहाल तत्कालीन समयमा प्रधानमन्त्री थिए । मतगणना सुरुनै ढिलो र सुस्त भएको भरतपुरमा काँग्रेस र माओवादीको संयुक्त उम्मेद्धारका रुपमा रेणु दाहाल उठेकी हुन् ।