२१ अर्ब भ्रष्टाचारका आरोपी चूडामणि शर्मालाई उपस्थित गराउन सर्वोच्चको आदेश

Posted on: July 12, 2017 | views: 328

काठमाडौं ।

सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ ।


न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आधार र कागज प्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत  शुक्रबार अदालतमा उपस्थिति गर्न/गराउन आदेश दिएको हो ।


त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ । 


राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो । 


शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्योट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायत आरोप छ ।


शर्माकी पत्नी कल्पना उप्रेती शर्माले थुनामुक्तिको मागसहित मंगलबार प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । अख्तियारले शर्मालाई राजस्व हिनामिना गरेको आरोपमा एक महिना अघि नियन्त्रणमा लिएको थियो ।

कर फछ्र्योट आयोगबाट व्यापारिक फर्मलाई अर्कौं रुपैयाँ उन्मुक्ति दिएको बिषयमा छानविनका लागि पक्राउ गरिएको थियो ।