आज तराईका जिल्लामा फागू खेलीँदै

Posted on: May 02, 2016 | views: 191

१० चैत, जनकपुर ।
मेलमिलाप, सदभावका साथ आज तराईका जिल्लामा उल्लासमय तरिकाले फागू खेलेर यो पर्व मनाईंदैछ ।

पहाडका जिल्लामा हिजो फागूपर्व मनाईएपनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । फागू पर्वकै अवसरमा तराईका जिल्लामा आज सार्वजनिक विदा समेत रहेको छ ।

असत्यमाथी सत्यको बिजयी भएको पौरणाकि मान्यताका रुपमा मनाइने होली पर्व हिजो राजधानीसहित पहाडका जिल्लामा उल्लासपुर्वक मनाइएको थियो ।

तराईमा आज विहानैदेखी होलीको रौनक सुरु भएको छ । जनकपुर, विरगञ्ज, नेपालगञ्ज लगायतका मुख्य शहर तथा तराईका २० बढी जिल्लाम बिहानैदेखी आपसमा रङ्ग तथा अबीर दलेर आपसी सद्भाव र मेलमिलापको कामना गर्दै फागु पर्व मनाउन थालिएको छ ।

रङ्गहरुको पर्व होलीलाई तराईमा बिशेष महत्व दिने गरेको पाइन्छ । होलीमा हुन सक्ने बिकृति नियन्त्रण गर्न भन्दै प्रहरीले तराईका जिल्लामा विशेष सुरक्षा सक्रियता बढाएको जनाएको छ ।

६ महिना लामो मधेश केन्द्रित दलहरुको स्वार्थमा भएको आन्दोलनले अशान्त बनेको तराईका जिल्ला महिनादिन यता शान्त बन्दै जाँदा दशैं र तिहार समेत उल्लासमा मनाउन नपाएका तराईवासी फागू पर्वलाई विशेष रुपमा मनाउँदैछन् ।