निर्वाचनको तयारी सकियो, यस्तो छ निर्वाचनको व्यवस्था

Posted on: June 27, 2017 | views: 148

काठमाडौं ।

निर्वाचन आयोगले दोश्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।


अयोगमा आज आयोजित पत्रकार सम्मेलन प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सबै मतदातालाई निर्धक्क भएर मतदानमा सरिक हुन आग्रह गर्नुभयो ।


दोश्रो चरणको निर्वाचनका लागि ६२ हजार ४०८ उमेदवार चुनावी प्रतिपस्पर्धामा हुनुहुन्छ । निर्वाचनमा ४१ उमेदवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 


दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको ८ हजार ३६४ मतदान केन्द्रमा गई मतदाताले  बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता मतदानमा सहभागी हुनेछन् । मतदानबाट १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित हुनेछन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।


कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका परिचयपत्र हराएमा, नष्ट भएमा, नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । 


मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाबमोजिम सानोतिनो भूलभुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था पनि आयोगले मिलाएको छ । 


स्थानीय तह दोश्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ ।


अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न आयोगले निर्देशन दिइसकेको पनि जनाएको छ । 


आचारसंहिताको पूर्ण पालना गरी मतदातालाई मताधिकारको सुनिश्चित हुने सहज वातावरण निर्माणका लागि सबैसँग अनुरोध गर्दै आयोगले मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक एवम् ट्वीटरलगायतका सामाजिक सञ्जाल वा अन्य माध्यमहरुबाट समेत निर्वाचनको प्रचार–प्रसार नगर्न र मौन अवधिको पूर्ण पालना गर्न पनि ध्यानाकर्षण गराएको छ ।