अनियमितता रोक्न खोज्दा निर्वाचन आयोगका अयोधि प्रसादले सचिव सरुवा गराए

Posted on: June 25, 2017 | views: 240

काठमाडौं ।


प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले सचिव सरुवाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कुनै अप्ठ्यारो नपर्ने बताएका छन्। आयोग प्रमुख यादवले भने, ‘निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले निर्वाचन आचारसंहिता र कार्यान्वयनमा कुनै अप्ठ्यारो पर्दैन ।’

सचिव सरुवाले निर्वाचनसम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा व्यवधान नपर्ने दाबी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोग संवैधानिक अंग भएकाले यसका प्रत्येक गतिविधि स्वतः अघि बढ्छन्।’प्रमुख आयुक्त यादवले रिपोर्टर्स क्लबको साक्षात्कारमा भने, ‘सचिवको सरुवालाई आफूले सहज रूपमा लिएको छु। सरुवाले निर्वाचनमा कुनै बाधा पार्दैन।’


‘सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठूलो हल्ला छ तर १४ गते हुने निर्वाचनलाई यसले कुनै असर गर्दैन। आयोगले यसलाई सहज रूपमा लिएको छ’, उनले भने।’कर्मचारीको सरुवा, बढुवा स्वाभाविक प्रक्रिया हो। सोहीअनुसार मैनालीको सरुवा भएको हो। ०६३ सालदेखि हालसम्म आयोगमा १३ जना सचिवको सरुवा भइसकेको छ’, प्रमुख आयुक्त यादवले भने।


गाडी खरिद प्रकरणमा आयोग पदाधिकारी र सचिव मैनालीबीच तालमेल नमिलेका कारण सरुवा गरिएको भन्ने आरोपमा प्रमुख आयुक्त यादवले त्यसमा कुनै सत्यता नभएको प्रस्ट गरे। आयोगबाट मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका मैनालीसँग जिज्ञासा राख्दा उनले भने, ‘अनियमितता हुन खोजेको थियो, त्यसलाई रोक्न खोज्दा मेरो सरुवा भयो। उनीहरूले हरेक कुरामा फजुल खर्च गर्न खोज्ने, मैले त्यस्ता कुरा रोक्न खोज्दा सैह्य भएन निकाले।’


अनियमितता गर्न खोज्नेविरुद्ध दृढतासाथ उभिने प्रतिबद्धता व्यक्त गर्दै मैनालीले भने, ‘निर्वाचन आयोगमा अनियमितता, आतंक हुँदा आयोग र सचिवालयबीच दूरी बढिरहेको छ।’सरुवा ठूलो कुरा नभए पनि आफूलाई अन्याय पूर्ण तवरले हटाइएको भन्दै उनले आक्रोश पोखे। दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न हुन चार दिन बाँकी छँदा सरुवा गर्नु आमकर्मचारीको मनोबल गिराउनु हो मैनालीले बताए। सचिवालय र आयोगबीच दूरी बढेको दाबी गर्दै मैनालीले भने, ‘संवैधानिक अंगमा यस्तो हुनु राम्रो होइन।’


आयोगमा करिब ७० वटा गाडी जुनसुकै समयमा सञ्चालन हुन सक्ने अवस्थामा छन् तर अर्कोतर्फ नयाँ गाडी खरिदको प्रसंगमा आफूले असहमति राखेको मैनालीले जनाए। गाडी खरिद गर्दा सार्वजनिक खरिद प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो धारणा रहँदा रहँदै आयोगले सात दिनको सूचनाबाटै ल्याउन खोज्नु न्यायोचित नभएको मैनालीले जिकिर गरे।


प्रमुख आयुक्तसँग बा।६च १४४६, बा।२झ ४४६ र बा।२झ २८०३ नम्बरका तीन वटा गाडी, आयुक्त इला शर्मासँग बा।६च १४४८ जिप, बा।१०च ८२४७ कार र मोटरसाइकल समेतको सुविधा लिएको मैनालीले जानकारी दिए। ८ डबल क्याब र चारवटा भारतबाट झिकाएको कार, आयुक्तहरूले चढ्ने जापानिज टोयटा गाडी रहेको उनले बताए।


आयोग पदाधिकारीले ६७ वटा शीर्षकका बजेटको दुरुपयोग गरेकोमा आफूले असहमति जनाएको मैनालीले जिकिर गरे। आयोग पदाधिकारीले काठमाडौंमा घर भए पनि घर नभएको भन्दै घरभाडा असुल गर्ने, बिलासी खाजा र भौतिक संरचना राख्ने, कार्यालयका जिन्सी सामान घरमा लग्ने, एक आयुक्तको घरमा आयोगको टेलिभिजन नै रहेको जानकारी मैनालीले दिए। आयोग पदाधिकारीसँग उच्च नैतिकता नै नरहेको उनको आरोप छ ।  यो खबर चिरञ्जिवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।