एमाले वडाध्यक्षको घरमा दुई वटा बम प्रहार, बिष्फोटमा परि एकजना घाईते

Posted on: June 21, 2017 | views: 223

खोटाङ ।

अज्ञात समुहले खोटाङमा एमाले वडाध्यक्षको घरमा सुतली बम बिष्फोट गराएको छ । रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा मंगलबार राती बम बिष्फोट गराएको हो ।

बिष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी शकुन्तला चौहान घाईते भएका छन् । उनको दुबै खुट्टा डढ्नुका साथै चोट लागेको छ । दाहिने खुट्टाको फिलामा समेत चोट लागेको उम्मेद्वार चौहानका भतिज दानबहादुर चौहानले बताउनुभयो ।

घरको सामुन्ने रहेको भान्छा कोठामा उम्मेद्वार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको अवस्थामा दुई वटा सुतली बम बिष्फोट गराइएको थियो । पहिलोपल्ट हानिएको बम बिष्फोट नभएपछि तत्काल अर्को बम हानिएको थियो ।

पहिलो बम नपड्केपछि भाग्दाभाग्दै अर्को बम हानिएको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । चौहान परिवारका अनुशार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम बिष्फोट भएको हो ।

बिष्फोटका बेलामा उम्मेद्वार चौहानकी आमा भने घरको माथिल्लो तलामा सुतीरहेकी थिईन् । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले भने किचन नजिक सुतली बम बिष्फोट गराइएको बताउनुभयो । दुई वटा सुतली बम हानिएको जानकारी आएको छ,’ प्रजिअ पोखरेलले भन्नुभयो, एक जना घाईते भएको छ ।’

बिष्फोट नभएको सुतली बम निष्क्रिय पार्नका लागि दिक्तेलस्थित नेपाली सेनाको बिस्फोजल टोली बुधबार बिहान घट्नास्थल पुगेको छ । नेपाल प्रहरीको टोली भने मंगलबार राती नै पुगेको थियो । उम्मेद्वारको घरमा विष्फोट भएपछि नेता तथा कार्यकर्ता आतंकित भएका छन् ।

विष्फोटमा संलग्नको पहिचान हुन सकेको छैन । एमालेले निर्वाचनमा होमिएका आफ्नो नेता तथा कार्यकर्तालाई हतोत्साहित पार्नका लागि बिष्फोट गराइएको दाबी गरेको छ ।