भरतपुरमा माओवादीले च्यातेको मतपत्र झिकाउन सर्वोच्चको आदेश

Posted on: June 20, 2017 | views: 379

काठमाडौं ।

सर्वोच्च अदालतले मतगणना अन्तिम चरणमा पुगेको बेलामा पराजय नजिक पुगेको एमाओवादीका कार्यकर्ताले च्यातेको भरतपुर महानगरपालिकाको मतपत्र झिकाउन आदेश दिएको छ ।


चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु भएको बहसमा सर्वोच्चले च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश भएको हो ।


कायममुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलाशले मंगलबार त्यस्तो आदेश दिएको हो ।


बहसमा रिट निवेदकका तर्फबाट दुई जना वकिलले बहस गरेपछि सरकारी वकिलको धारणा लिएर इजलाशले त्यस्तो आदेश दिएको हो । इजलाशले निर्वाचन अधिकृतको कार्यालयको निर्णय पनि झिकाउन आदेश दिएको छ ।


सो वडाको मतगणना गर्दा ९० वटा मतपत्र च्यातिएको पाइएपछि निर्वाचन आयोगले पुनमतदान गराउने निर्णय गरेपनि सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन नगर्न यसअघिनै आदेश दिइसकेको छ ।


आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको थियो ।


आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो ।


यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ । दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए ।


वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर केवल ७३३ मा झरेको थियो ।

माओवादी केन्द्रको उम्मेद्धार बनेकी रेणु दाहाल पराजित हुने अवस्थामा पुगेपछि मध्यरात मतदान अधिकृत शौचालय गएको समय पारेर माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए ।


मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्तालाई अदालतले जनही १ लाख जरिवानामा साधारण तारेखमा छाडिसेको छ ।