निर्वाचनमा सार्वजनिक विदा दिन निर्वाचन आयोगको निर्देशन

Posted on: June 19, 2017 | views: 353

काठमाडौं ।

निर्वाचन आयोगले १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने  प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारी, अर्धसरकारी कार्यलयमा कार्यरत अधिकाश कर्मचारी मतदान कार्यमा परिचालित हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने जनाउदै आयोगले ती जिल्लामा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्र पठाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

यसैगरी आयोगले यही असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखि असार ११ देखि १४ गतेसम्म शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन  शिक्षा मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने ३ सय ३४ स्थानीय तहका अधिकाश मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएकोले ती जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र  क्याम्पसमा यही असार ११ गतेदेखि ४ दिनसम्म विदा दिन शिक्षा मन्त्रालयलाई पत्र पठाइएको आयोगका प्रवक्ता शर्माले बताउनुभयो ।

साथै आयोगले सार्वजनिक, संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्था भएको खण्डमा मतगणना कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइ दिने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी,  निर्वाचन सञ्चालनका लागि कतिपय मतदान केन्द्र गाउँपालिका  तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसरमा  तोकिएको हुदाँ त्यस्ता भवन र परिसर निर्वाचनका लागि उपलब्ध गराई दिने व्यवस्था मिलाउन सम्वन्धित निकायलाई पत्राचार गरिएको पनि निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुनिश्चित भएको भन्दै मतदाताहरु झनै उत्साहित भएका छन् । प्रदेश नम्बर ५ को बाँके जिल्लामा चर्को धुपको प्रवाह नगरी उम्मेदवारहरु भोट माग्न ब्यस्त छन् । मतदाताहरु पनि मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा छन् ।