लम्पसारवादी सरकार । नेपाली अपहरण गर्ने भारतीय सुरक्षाकर्मी बिना कारबाही छुटकारा

Posted on: June 02, 2017 | views: 247

काठमाडौं ।

अवैध रुपमा नेपाल छिरेर नेपालीलाई बन्धक बनाएर अपहरण गरि भारत लैजाँदै गरेको अवस्थामा पक्राउ गरेका भारतीय प्रहरीलाई सरकारले त्यसै छाडीदिएको छ ।


डोटीबाट पक्राउ परेका भारतीय प्रहरीका डिएसपीसहितको टोलीलाई सरकारले तत्काल छाड्न निर्देशन दिएपछि प्रहरीले बिना कुनै कारवाही भारतको जिम्मा लगाएर छाडेको हो ।


भारतीय प्रहरीको टोलीले डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा डोटीमा नेपाल प्रहरीले पक्राउ गरेको थियो ।


सरकारको ठाडो निर्देशनपछी प्रहरीले नेपालीलाई अपहरण गर्न नेपाल घुसेका भारतीय सुरक्षाकर्मीलाई  बिना कारबाही छाडेपछि स्थानीयबासी आक्रोशित भएका छन् भने घटनाको देशभर बिरोध सुरु भएको छ ।


सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले दिएको जानकारी अनुसार महाकाली अञ्चल प्रहरी कार्यालयमार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाएर छाडिएको हो ।


बन्धक बनाइएका दिपायल सिलगढी नगरपालिका वडा नंं ८ का लालबहादुर आउजीसहित भारतीय प्रहरीका दुई सहयोगीलाई भने डोटीबाट नै छोडिएको बताइएको छ । भारतीय प्रहरीले बिहिबार राति २ बजे आउजीलाई कुटपीट गर्दै बन्धक बनाएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्रेको थियो ।


स्थानीयले तत्काल प्रहरीलाई जानकारी दिएपछि सिलगढीमा उनीहरुलाई गाडीसहित पक्राउ गरेको थियो । तर प्रहरीले घटना लुकाएपनि बिहिबार साँझमात्र सार्वजनिक भएको घटनालाई प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले समेत लुकाएका थिए । पछि मात्र प्रजिअ शर्माले घटना पुष्टि गरेका थिए ।


नेपाली सिमा क्षेत्रमा नेपालीमाथि कुटपीट र हातपात गर्दै आएको भारतीय सुरक्षा फौजले नेपाली सिमा मिच्दै आएको घटनाको बिरोध जारी रहँदा नेपालमै घुसेर नेपाली नागरिकलाई कुटपीट गरेर अपहरण गर्न खोज्ने भारतीय सुरक्षाकर्मीलाई पुष्पकमल दाहाल सरकारको ठाडो निर्देशनपछि तत्काल बिना कुनै कारवाही प्रहरीले छाडेको डोटि जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।