महाअभियोग फिर्ता र टीकापुर नरसंहारका दोसीलाई कारवाही गर्नेभएपछि संसद सुचारु

Posted on: May 27, 2017 | views: 178

काठमाडौं ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक आजदेखि सुचारु भएको छ ।


विपक्षी दलले उठाएको मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार र प्रमुख प्रतिपक्षी दल वीच सहमति भए पश्चात बैठक सुचारु भएको हो ।


बैठक सुचारु भएसँगै संसदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्नु भएको  सरकारको नीति तथा कार्यक्रमकोप्रति सदन समक्ष टेबुल गर्नुभयो । 


राष्ट्रपति भण्डारीले यही जेठ ११ गते संसद्मा सम्बोधनमार्फत् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।


आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक टेकबहादुर बस्नेतले सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवाद प्रस्ताव पेश गर्नुभयो । 


प्रस्तावमा नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले समर्थन गर्नुभयो । तत्पश्चात प्रस्तावबारे छलफल गर्न सभामुख ओनसरी घर्तीले आज र भोलिका लागि सकय तोक्नु भएपछि संसदमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल शुरु भएको छ ।


बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराउनु भएको थियो । 


यसअघि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको मागहरु वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्ने र टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको थियो ।


बैठकमा नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारु हुने बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।


नेकपा (माओवादी केन्द्रका) नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउन लगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए ।


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो ।