चीनसँग यस्ता ५ सन्धि गर्न प्रधानमन्त्रीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको सुझाव

Posted on: May 03, 2016 | views: 348

६ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लागेको एकदिन अघि नेपाल राष्ट्रवादी मोर्चाले चीनसँग दिर्घकालिन पाँच सम्झौता गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा नेपालले गर्नुपर्ने कार्यनीति र अपनाउनुपर्ने रणनीतिका सम्वन्धमा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भारतसँग सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि जस्तै चीनसँग पनि यस्तो सन्धि गर्न माग गरिएको छ ।

चीनका समकक्षीसँगको भेटमा नेपाल, चीन र भारतबीचको त्रिपक्षीय बिन्दु लिम्पियाधुरा हो भन्ने बिषउ उठाउन सुझाव दिंदै मोर्चाले रक्षा सन्धि, सुपुर्दगी सन्धि र ईन्धन तथा पारवहन सन्धि सहित विप्पा सम्झौता गर्न माग गरेको छ ।

यस्तो छ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन
प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा नेपालले गनुपर्ने कार्यनीति र अपनाउनुपर्ने रणनीतिका
सम्बन्धमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली समक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रस्तुत

ज्ञापनपत्र

सम्माननीय प्रधानमन्त्री,
प्रधानमन्त्री निवास
बालुवाटार, काठमाडौं ।

    सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीको आसन्न चीन भ्रमणका अवसरमा नेपालले कस्तो कार्यनीति बनाउनुपर्छ र कस्तो रणनीति अङ्गीकार गर्नुपर्छ भन्ने सम्बन्धमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा निम्न लिखित बुँदाहरुमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्दछ ।

१.    एउटा छिमेकी मुलुकसँग जस्तो सम्बन्ध राखिन्छ अर्को छिमेकी मुलुकसँग पनि त्यस्तै सम्बन्ध राख्नुपर्नेमा चीन र भारतसँगको नेपालको सम्बन्धमा समदूरीको मित्रता राखिएको छैन । भारतसँग सन् १९५० मै शान्ति तथा मैत्री सन्धि भयो भने चीनसँग आजसम्म त्यस्तो सन्धि भएको छैन, तसर्थ चीनसँग पनि अविलम्व शान्ति तथा मैत्री सन्धि गरियोस् ।
२.    चीनका समकक्षीसँग नेपाल, भारत र चीनबीचको त्रिपक्षीय बिन्दु लिम्पियाधुरा हो भन्ने विषयलाई दृढतापूर्वक उठाइयोस् ।
३.    चीनसँग रक्षा सन्धि गरियोस् ।
४.    चीनसँग सुपुर्दगी सन्धि गरियोस् ।
५.    चीनसँग पेट्रोलियम सहितको व्यापार तथा पारवहन सन्धिका अतिरिक्त विप्पा गरियोस् ।

   ....................
    फणीन्द्र नेपाल
       अध्यक्ष

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
मितिः२०७२/१२/५