किन ५ वर्षदेखि ईयूको कालोसूचीमै छन् नेपालका यी विमान कम्पनी

Posted on: May 19, 2017 | views: 257

काठमाडौं,जेठ ५ । युरोपियन कमिशनले नेपाली विमान कम्पनीमाथि लगाउँदै आएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। पछिल्लो समय सरकारले नेपाली सेवाप्रदायक विमान कम्पनीमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो। युरोपियन युनियन एभिएसन सेक्युरिटी काउन्सिलले मंगलबार जारी गरेको कालोसूचीमा नेपाललाई फेरिपनि सामेल गरको हो। 


युरोपियन काउन्सिलले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दैआएको छ। हवाई सुरक्षा, दुर्घटना पछिको उद्धार लगायत क्षेत्रको अध्ययनपछि उसले यो सूची प्रकाशन गर्दै आएको हो। एभिएसन क्षेत्रका विभिन्न १० विधाको अध्ययनपछि प्राप्त अंकका आधारमा यो सूची तयार गरिन्छ। नेपाल १० मध्ये पर्सनल लाइसेन्सिङ, फाइट रेक्यु कमिटी, रेगुलेटरी बोडीलगायत चार विधामा असफल हुँदै आएको छ। 


युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीहरुलाई युरोपेली युनियन अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको छ। आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका विमानमा यात्रा नगर्न समेत आग्रह गरेको छ। युरोपेली आयोगको यो निर्णयले युरोपमा हवाई उडान सेवा विस्तार गर्न नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको योजनासमेत सफल हुन सकेको छैन। 


युरोपियन यूनियनले नेपाल एयरलाइन्स सहित १८ वटा विमान कम्पनीमा लगाएको प्रतिबन्ध कायमै राखेको छ। नेपालमा आन्तरिक उडान गरिरहेका एयर डाइनेस्टि, एयर काष्टमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर हिमालयन एयरलाइन्स मकालु एयर मनाङ एयर माउन्टेन हेलिकोप्टर्स मुक्तिनाथ एयर सौर्य एयरलाइन्स श्री एयरलाइन्स तारा एयर र यती एयरलाइन्स ईयूको कालोसूचीमा रहेका छन्। आजको राजधानी दैनिकमा समाचार छ ।