राष्ट्रपति थाइल्यान्ड र श्रीलङ्का जाँदै

Posted on: May 11, 2017 | views: 406

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुहुने भएको छ । 


श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो । 


बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । 


यही वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ । 


श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । 


भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नुहुनेछ । 


थाइल्यान्डमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्व. थाइ राजा भूमिबोल अदुल्यादेजको पार्थिव शरीरमा माल्यापर्ण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुहुने छ । 


राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनुहुने छ ।


आँखाको लेन्स उत्पादन गर्न सहमति


काठमाडौं ।

उद्योग मन्त्रालयले तिलगङ्गा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्सको उत्पादन वृद्धि गर्न सघाउने भएको छ । 


आज त्यससम्बन्धी सहमतिपत्रमा उद्योग मन्त्रालयका मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र प्रतिष्ठानका तर्फबाट आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गर्नुभयो । 


त्यस अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्ने योजना रहेको बताउनुभयो । 


सहमतिअनुसार नेपाल आँखा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको उद्योग मातहत रहेका सम्पूर्ण यान्त्रिक औजार, प्रविधि, सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याउने तथा उद्योगबाट उत्पादित लेन्सको अन्तर्रा्ष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनीतिक माध्यमबाट आवश्यक सहकार्य गरिने छ । 


डा. सन्दुक रुइतले अन्तराष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरीय उत्पादनका रुपमा ख्याति कमाइसकेकाले मन्त्रालयले थप सहयोग गरी बढी लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्ने बताउनुभयो । 


तिलगंगा नेत्र प्रतिष्ठानले हाल ४९ लाख लेन्स उत्पादन गरी ५० भन्दा बढी मुलुकमा वितरण गरिएको जनाएको छ ।


अपराधी बब्लुको हत्या


बीरगञ्ज ।

वीरगञ्ज लगायत नेपाल भारत सिमा क्षेत्रमा आतंक मच्चाउदै आएका कुख्यात भारतीय अपराधी बब्लु दुबेको भारतको विहार राज्यको बेतियास्थित अदालत परिसरमै गोली हानी हत्या गरिएको छ । 


भारतको बक्सार कारागारमा थानामा रहेका दुवेलाई आज बेतिया सदर अदालतमा पेश गर्न लैजाने क्रममा अज्ञात समूहले गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । 


तीन वर्षअघि निजलाई नेपालमा पक्राउ गरी सरकारले रातारात भारतसमक्ष बुझाएको थियो । 



काठमाडौंमा अहिलेसम्मकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता हुने


काठमाडौं ।

काठमाडौमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । 


जेठ ९ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका एकरएक सहित आर्मी, प्रहरी र सशस्त्र प्रहरी गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को र काठमाडौं क्रिकेट टे«ेनिङ सेन्टरको आयोजनामा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 


त्यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ५० हजार रुपैयाँ र लिगका खेल जित्ने टिमले एक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 


प्रतियोगिताको म्यान अफ दि सिरिजले १ लाख रुपैयाँ तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०र५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् । 


प्रतियोगिताको लागि १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ५० लाख रुपैयाँ राखेपले बेहोर्ने र बाँकी विभिन्न प्रायोजकहरुबाट संकलन गरिने राखेपका सदस्यसचिव केशव विष्टले जानकारी दिनुभयो ।


सरकारले गएको जेठमा जारी गरेको निती तथा कार्यक्रममा सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिता गर्ने घोषणा गरेपनि विभिन्न समस्याका कारण बर्खा लागेपछि मात्रै प्रतियोगिता गर्न सम्भव भएको आयोजकले जनाएको छ ।


प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मलेनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले आगामी असोजमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि यो प्रतियोगिता कोसेढुंगा सावित हुने बताउनुभयो । पुराना खेलाडीको प्रदर्शनमा निखारता आउने र नयाँ खेलाडीले पनि अवसर पाउने उहाँको भनाई छ ।