यस्तो बन्ने भो नयाँ धरहरा, खर्च २ अर्ब ८० करोड, बगैंचा देखी भुईतल्ला पार्किङ समेत

Posted on: April 02, 2017 | views: 246
काठमाडौं । भूकम्पले विनास गरेको ऐतिहाँसिक धरहरा कस्तो बन्ला भन्ने नक्सा बल्ल दुई बर्ष लगाएर सार्वजनिक गरिएको छ । अघिल्लो बर्ष गएको भूकम्पमा दशौं लाख घरहरु सहित महत्वपूर्ण सम्पदामा क्षति पुग्दा धरहरा पूर्ण रुपमा ढलेको थियो । करिब दुई अर्ब ८० करोडको लागतमा पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि अनुमान अध्ययन गरेको जनाईएको छ । नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत विभागले तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान जनाईएको हो । करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुने अध्ययन प्रतिवेदन अनुसार रहेको छ । घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत धरहरामा व्यवस्था हुने छ । विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको बताइएको छ । गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग गरी पुरानै शैलीमा विकास गरिने निस्कर्ष निकालेको छ । सो अध्ययन प्रतिवेदन एक साताभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने र सोही प्रतिवेदनका आधारमा उक्त सम्पदा सो संस्थाले निर्माण गरिदिने जनाईएको छ । टेलिकमले धरहरा पुनःनिर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो । टेलिकमले सोही रकमको परिधिभित्र रही निर्माण तथा खर्च गर्नेछ ।