घर बनाउनै नपाई एसएसबीको गोलीले शहिद गोविन्दको सपना

Posted on: March 10, 2017 | views: 838

२७ फागुन, कञ्चनपुर । आनन्दबजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतम तीन महिना अघि मात्रै बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । साउदीमा दुई वर्ष बसेर फर्किएका गौतमले सुकुम्वासी बस्तीमा एउटा सानो, कच्ची घर बनाउादै थिए । निर्माणाधीन घर र परिवारजनको अधुरो सपनालाई असरल्लै छाडेर गोविन्द सधैंका लागि विदा भएका छन् ।

एउटा सानो घरका लागि तीन पुस्तासम्म संघर्ष गर्नुपर्ने नियतिबाट गोविन्दका ७२ वर्षीय पिता खेम लाल गौतम दलिनले जस्तै थिचिएका छन् । एसएसबीको गोली लागेर बिहीबार मृत्यु भएका गौतम अब कहिल्यै नफर्कने गरी गएका छन् । र, उनको परिवारमा चाहि कहिल्यै नजाने गरी विपतका दिनहरु आएका छन् । घरमा ७२ वर्षीय वृद्धबुवा खेम लाल गौतम, उस्तै उमेरकी आमा हरि देवी गौतम छन् ।

जवान श्रीमती सुशीला गौतम र तीन जना नावालिक छोरीहरु छन् । आशिका गौतम (१० वर्ष), आकृति गौतम (७ वर्ष) र आसुम गौतम (३ वर्ष) ले आफ्ना अविभावक पिता दुई वर्ष साउदीमा रहदा त छोरीहरुले पर्खिएकै थिए, तर अब जति पर्खे पनि नआउने बाटोमा गएका छन् उनी । भविष्यमा सुखी जीवन जिउने र फूल जस्ता छोरीहरुलाई उचित शिक्षा दिने सपना सााचेर गोविन्द अरबको मरुभूमिमा पसिना बगाउन गएका थिए । तर, नियतिले उनलाई विदेशमा बगेको पसीना ओभाउन नपाउदै आफ्नै देशको सीमा नाकामा रगत बगाउन लेखेको रहेछ ।

बिहीबार भारतीय सुरक्षाकर्मीको गोली कम्मरमा लागेपछि उपचारका लागि धनगढी पुर्‍याउदा नपुर्‍याउदै गोविन्दको अत्यधीक रक्त श्रावका कारण ज्यान गयो । तीन दाजु भाइ र १ बहिनी मध्ये गोविन्द माइला छोरा हुन् । सामान्य लेख पढ मात्रै गरेका उनी घरको स्थिति नाजुक भएका कारण केही पैसा कमाउने आशमा साउदी पुगेका थिए । र, तीन महिना अघिमात्रै स्वदेश फर्केर सुकुम्वासी बस्तीमा सामान्य कच्ची घर निर्माणको तयारीमा लागेका थिए ।

स्थानीय नमूना प्राथमिक विद्यालयमा अध्ययनरत छोरीहरुलाई राम्रो स्कुल पढाउने गोविन्दको सपना अब सपनामा मात्रै सीमित भएको छ । सुशीलाको सिउदो पुछिएको छ, आमा, बुबा भावविह्वल भएका छन् । अत्यन्तै मिजासिला र भद्र स्वभावका गौतमको मृत्युको खबरले माछापुच्छ्रे सुकुम्वासी टोल मात्रै होइन, पुरै देश, बिदेश स्तब्ध भएको छ ।

माओवादीले दिएको जानकारी अनुसार उनी माओवादी केन्द्रका नगरस्तरीय कार्यकर्ता थिए । गोविन्द गौतम सुकुम्बासी टोलका ‘सर्बहारा’ युवा हुन् । उनको सपना खासै ठूलो थिएन, ओत लाग्ने एउटा सानो घर होस् छोरा, छोरीलाई पठाउन सकियोस, बूढा भएका बुवा, आमालाई स्वास्थउपचार गर्न सकियोस् । तर, यति सामान्य उदरस्थ सपना पूरा गर्नका लागि पनि गोविन्द जस्तै गरीबका छोराले विदेशमा वर्षौं हड्डी खियाउनुपर्ने बाध्यता छ ।

नेताहरु देशमा लोकतन्त्र, गणतन्त्र र संविधानले दिएका अधिकार बारे प्रवचन दिइरहेका छन् । तर, आनन्द बजारको माछापुच्छ्रे सुकुम्बासी टोलमा सपनाहरुको यसै गरी निर्मम हत्या हुने गरेको छ, चाहे विदेशी गोलीले होस् वा स्वदेशी गरीबीले ।