नाकाबन्दी गर्ने भारतले पुर्ननिर्माणको जिम्मा माग्यो, जापानले प्रस्ताव बुझायो

Posted on: May 02, 2016 | views: 234

३० फागुन, काठमाडौं ।
भूकम्पले थलिएको नेपाललाई सहयोग गर्नुको साटो नाकाबन्दी गर्दै दुख दिएको भारतले भूकम्पपछिको पूर्ननिर्माणको भने जिम्मा मागेको छ ।

नेपालका दलहरुलाई जुधाउने बजाउने गर्दै अस्थिरता निम्त्याइरहेको भारतले काष्ठमण्डप, स्वयम्भु लगायत १४ वटा सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण गरिदिने भन्दै जिम्मा दिन माग गरेको छ ।

आफ्नै लगानीमा विभिन्न सम्पदाको पुनर्निर्माणको अनुमति माग्दै भारतले पुरातत्व विभागमा प्रस्ताव पेश गरेको हो । भारतले सिन्धुपाल्चोक रसुवालगायतका क्षेत्रका गुम्बाहरुको पुनर्निर्माणमा पनि आफूले सहयोग गर्न सक्ने बताएको छ ।

तर, भारतको प्रस्तावभित्र परे पनि काष्ठमण्डप र स्वम्भुमा भत्किएका प्रतापपुर र अनन्तपुर मन्दिरको पूनर्निर्माण उसलाई दिन नसकिने पुरातत्व विभागले प्रस्ट पारिसकेको छ ।

‘काष्ठमण्डप महानगरपालिकाले बनाउने तय भइसकेको छ । त्यसका लागि महानगर अन्तिम तयारीमा जुटेको छ । स्वम्भुका क्षति भएका दुईवटा मन्दिरको पुनर्निमाणका लागि विभागले प्रक्रिया समेत थालिसकेको छ ।

चीनसँगको नेपाल सम्वन्ध र सम्वेदनशिलतामा खेल्न खोजिरहेको भारतले राजनीतिक दवाव दिएर भनेपनि चीनसँगको सिमा जोडीएको सिन्धुपाल्चोक र रसुवामा गुम्बा पुर्ननिर्माणको जिम्मा हत्याउन लागि परेको छ ।

काष्ठमण्डप र स्वम्भुको साटो अन्य सम्पदाहरुको जिम्मा दिने विषयमा विभागले गृहकार्य गरिरहेको भन्दै पुरातत्व विभागले बुढानीलकण्ठ लगायतका क्षेत्रमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतलाई आग्रह गर्ने तयारी गरेको छ ।

भारतले जस्तै जापानले पनि दुईवटा मन्दिर निर्माणका लागि प्रस्ताव पेश गरेको छ ।

जापान सरकारले पेश गरेको पुर्ननिर्माण खाका, लगानी र नेपाल सरकारले भने बमोजिमको मापदण्डमा भूकम्प प्रतिरोधात्मक तरिकाले पुर्ननिर्माण गर्ने बताएको छ ।
जापान सरकारको योजनाबद्ध प्रस्ताव अनुसार पुरातत्व विभागले हनुमानढोकाको आगम्छे मन्दिर र पाटनको देगु तलेजु मन्दिरको पुर्ननिर्माण जापानलाई दिने तयारी गरेको छ ।

यसअघि श्रीलंकन सरकारले बुङ्मतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर र आनन्दकुटी बिहार बनाउने जिम्मा पाइसकेको छ । त्यसका लागि श्रीलंकासँग समझदारीपत्रमा समेत हस्ताक्षर भइसकेको छ ।

यस्तै उत्तरी मित्रराष्ट चीन सरकारले हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबारको पुनर्निमाणको जिम्मा लिएको छ । यसका लागि अर्थ मन्त्रालयसँग चीन सरकारले एमओयु गरिसकेको छ । चीनले छिट्टै काम थाल्ने जानकारी पुरातत्व विभागमा दिएको छ ।

नेपाल सरकार अन्र्तगत काठमाडौं महानगरपालिकाले भने रानीपोखरी र काष्ठमण्डपका साथै माझुदेग बनाउने निर्णय भइसकेको छ ।
त्यस्तै कन्जरभेसन हेरिटेज फाउण्डेसन नेपालले चाँगुनारायण मन्दिर परिसरका सत्तलहरुको पूनर्निर्माणको जिम्मा लिएको छ ।

यता विभागले १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण यसैबर्ष गरिसक्ने निर्णय सहित काम थालेको छ । भूकम्पबाट क्षति पुगेका काठमाडौं उपत्यका सहित देशभरमा पुरतात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले कार्ययोजना तयार गरेको हो  ।

यसवर्ष मात्रै ७८ करोड रुपैयाँ पुराना सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुने विभागको भनाई छ । यो वर्ष बसन्तपुर क्षेत्रको त्रैलोक्यो मोहनको मन्दिर, इन्द्रायणी, कंकेश्वरी, नरदेवी र जैसी देवलको पुर्ननिर्माण विभागले नै गर्ने भएको छ ।

यसैगरी पाटनको जगतनारायण मन्दिर, भक्तपुरको कला संग्रहालय, फर्सीदेग, बत्सला देवीको मन्दिर, तव सत्तल, स्वयम्भुको प्रतापपुर र अनन्तपुर मन्दिरलगायत पुरातात्विक सम्पदाको पुर्ननिर्माणका लागि विभागले काम अघि बढाएको महानिर्देशक दाहालले बताए।  यो वर्ष बहुवर्षिय योजनाअन्तरगत ४३ वटा पुनर्निर्माणका काम सुरु हुनेछन्।

नेपाल सरकारले भने ऐतिहाँसिक धरहरा निर्माणको जिम्मा कुनै देशलाई नदिने भन्दै आफैंले बनाउने पहल तालेको छ । यसको लागि नेपाल सरकारले खाता समेत सञ्चालनमा ल्याएको छ ।