सुजातालाई ५० लाख, यिनको उपचार कसले गर्छ सरकार ?

Posted on: November 15, 2016 | views: 319

३० कार्तिक, राजविराज ।

सप्तरी कोचाबखारी गाविस–५ लोखरमका हरेराम मण्डल र रन्जुदेवीकी १३ महिने छोरी नीलमको शरीरमा रहेका सबै हड्डीहरू बाहिरबाट प्रस्टै देखिन्छन्। उनको शरीरमा हाडमाथि पातलो छालाबाहेक केही छैन । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । झट्ट हेर्दा द्वन्द्वग्रस्त मुलुकमा भोकमरीको सिकार भएको जस्तै देखिन्छिन् नीलम ।

खाना र पौष्टिक आहार नपाउँदा उनी कुपोषणको अन्तिम चरणमा छिन् । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र रहेको पोषण पुनस्स्थापना गृहमा उपचारका लागि एक महिनाअघि नीलमलाई ल्याउँदा कर्मचारी र प्राविधिकहरू एकछिन आश्चर्यमा परे । गृहकी प्रबन्धक रश्मी झाले भनिन्, ‘उनको शरीरमा मासु छँदै छैन, हाडमाथि पातलो छाला, हेर्दा नै डरलाग्दो देखियो ।’ यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उनका अनुसार नीलम कुपोषणबाट यो हालतमा ग्रसित बालबालिकामा भर्ना हुन आएकी पहिलो हुन् । झाले भनिन्, ‘यो अन्तिम अवस्था हो, बचाउन निक्कै गाह्रो छ ।’ गृहले बालिका नीलमको चिकित्सकबाट उपचार गराउँदा खान नपाएर उनको यो अवस्था भएको बताएको झाले जनाइन् । नीलमकी आमा रन्जु सुस्तमनस्थितिकी छन् । बुवा हरेराम सामान्य मजदुरी गर्छन् । ‘६ महिनादेखि नातिनीको यस्तै अवस्था थियो,’ उनकी हजुरआमा गुलियादेवीले भनिन्, ‘खानै पुग्दैन, कसरी उपचार गर्न ल्याउनु रु’

बालिकाको स्थिति चिन्ताजनक भएपछि नजिकको स्वास्थ्यचौकी सखडामा गएको र त्यहाँ पोषण पुनस्स्थापना गृहमा जान सल्लाह दिएको उनले सुनाइन् । ‘राजविराज आउने भाडा थिएन,’ गुलियादेवीले भनिन्, ‘घरमा रहेको चामल पसलमा बेचेर ३० रुपैयाँ भयो, त्यसैका भरमा नातिनी लिएर उपचारका लागि राजविराज आएँ ।’ उनका अनुसार घरमा चामल पनि एकछाकभन्दा बढी पुग्ने थिएन । त्यही पनि बेचिन् उनले । १३ महिनाअघि जन्मँदा नीलम सामान्य अवस्थामा थिइन् । उनको तौल ३ किलो थियो । अहिले उनको तौल चार किलो मात्र छ ।

गुलियादेवीको गरिबीको हालत सहनै नसक्ने खालको छ । ५ वर्षअघि श्रीमान् बिते । छोराबुहारी सामान्य कमाउँछन्, अलग्गै बस्छन् । ज्वाइँले मजदुरी गरेर ल्याएकाले छोरी, दुई नातिनी पाल्ने गरेको उनले सुनाइन् । परालले छाएको सानो २ कोठा भएको घर छ । वर्षामा चुहिन्छ । ‘कति छाक भोकै सुतेको छु,’ उनले पीडा सुनाइन्, ‘अब त हाम्रा सन्ततिको जीवन भगवानकै हातमा छ ।’

उनले कामना गरिन्, ‘हे सरकारहरू, हाम्रा सन्तति र समाजका भोलिका पुस्तालाई जोगाइदेऊ ।’ उनले आफ्नो परिवार चरम गरिबीको मारमा रहेको र नातिनीको अवस्था निक्कै गम्भीर भएकाले सहयोगका लागि सबैसित आग्रह गरिन् । ‘कोही त सुन्ने होला हाम्रो दुस्ख,’ उनले भनिन्, ‘मनकारी हातहरू आएर हाम्रो भावी पुस्ता जोगाइदेओस्, यही याचना गर्छु ।’

‘दुई छाक भात त दिन संकट छ,’ उनले भनिन्, ‘कहाँबाट दूध र पोष्टिक आहार दिनु, चोर्न जानु त भएन नि रु’

पोषण पुनस्स्थापना गृह राजविराजकी प्रबन्धक झाले खाली हात उपचारका लागि आएकी नीलमको उपचार र उनलाई पोषणयुक्त खानाको व्यवस्था तत्कालका लागि गृहबाट मिलाइएको छ ।

‘यो परिवारलाई अहिले आर्थिक सहयोगको निक्कै खाँचो छ,’ उनले भनिन् । झाका अनुसार गृहमा केही दिन उपचारपछि चाडपर्वका बेला घर लगिएकी नीलमलाई केही दिनअघि फेरि गृहमा भर्ना गरिएको छ । अहिले उनलाई सन्तुलित पौष्टिक आहार नियमित दिने गरिएको छ । सुरुमा आएको अवस्थाभन्दा केही सुधार देखिएको झाले बताए । ‘अहिले हामीले निस्शुल्क उपचार गरिरहेका छौं,’ उनले भने ।

गरिबीको चरम मारमा गुलियादेवीको परिवार मात्र होइन, अरू पनि छन् । खानै नपाएर कुपोषित भई पोषण पुनस्स्थापना गृहमा बालबालिका लिएर आउने क्रम अत्यधिक रहेको गृहले जनाएको छ । अहिले मात्र चारजना बालबालिका गरिबीका कारण खान नपाएर कुपोषित भई गृहमा आएको झाले बताइन् ।

‘दुई छाक टार्नै गाह्रो छ, के गर्ने, कहाँबाट बच्चा पाल्ने रु’ कुपोषणले बच्चा गम्भीर भएपछि उपचारका लागि पुनस्स्थापना गृह ल्याएकी सप्तरी कञ्चनपुरकी शान्तिदेवी रामले भनिन्, ‘श्रीमान् विदेश गए, सम्पर्कविहीन भए, सासू–ससुराले हेरेनन्, कहाँबाट बच्चा पाल्नु, आफ्नै ज्यान त गाह्रो भयो, यस्तो गरिबी र भोकमरी कसैलाई देख्नु नपरोस् ।’