मुखर्जी फर्कीए, तीन दिने भ्रमण आलोचना र बिरोधमै बित्यो

Posted on: November 04, 2016 | views: 307

१९ कार्तिक, काठमाडौं ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तिनदिने भ्रमण सकेर आज फर्कीएका छन् ।

मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्कीएका हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी हुन् । मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र राजदूत लगायत उपस्थित थिए ।

अठार वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपाल आएका थिए ।

नेपाल भ्रमणका क्रममा मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नुका साथै उनलाई काठमाडौँ र जनकपुरमा सरकारले आयोजना गरेको नागरिक अभिनन्दन गरिएको थियो ।

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भएका मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए ।

स्वदेश प्रस्थान गर्नुअघि आज उनले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

भूपू गोर्खाहरुलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले प्राचीनकालदेखि नै नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहँदैआएको बताए ।

भारतका राष्ट्रपति मुखर्जीले पूर्व भारतीय गोर्खा सैनिकहरु नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएको पनि बताए ।

उनले शान्ति र विकासका लागि नेपाल अघि बढिरहेको र यसमा भारतको सधैँ सहयोग रहने उल्लेख गरे ।

आजै मुखर्जि मिथिलावासीको तर्फवाट भन्दै सरकारले आयोजना गरेको जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्द कार्यक्रममा सहभागी भएका थिए ।

उनले माता जानकीको जन्मभूमि भएका कारणले भारतीय जनताका लागि पनि जनकपुर पवित्र रहेको बताए ।

उनले नेपाल भारतको घनिष्ठ मित्र रहेकाले नेपालमा स्थायी शान्ति, विकास तथा नेपाली जनताको सम्पन्नता चाहेको पनि बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरसंग भारतको त्रेता युगदेखीको सम्बन्ध रहेकाले जनकपुर र अयोध्यालाई जोड्ने गरी दुई देशबीच रेल मार्गको निर्माण हुुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख पूण्यप्रसाद लुईटेलले भारतका राष्ट्रपति मुखर्जिलाई मिथिला बासीको तर्फवाट भन्दै सम्मान पत्र तथा नगरको साँचो हस्तान्तरण गरेका थिए ।

यसैबिच भारतीय राष्टपतिको नेपाल भ्रमण सुरु र अन्त्य निकै आलोचना र विवादीत बन्न पुगेको छ ।

गत बर्ष यहि समयमा भारतले गरेको नाकाबन्दी अनि नेपालमाथि भारतले गर्दै आएको राजनीतिक हस्तक्षेप तथा सिमा अतिक्रमणसँगै नेपालका नेताहरुको भारतप्रतिको लम्पसारवादको समेत जनस्तरबाट चर्को बिरोध भएको पाइएको छ ।

मुखर्जीको भ्रमण हुने स्थानमा कर्फ्यु लगाएजसरी नागरिकलाई हिँड्न समेत रोक लगाएर सार्वजनिक आवागमन ठप्प पारेको सरकारको समेत चर्को आलोचना भयो । यसैगरि एकदिन दिइएको सार्वजनिक बिदाको हप्तादिन अघिदेखी नै बिरोध भएको थियो भने प्रचण्ड सरकारले भारतभक्ती देखाएको भन्दै अनावश्यक उपमा र सुरक्षाको समेत चर्को टिप्पणी भएको छ ।

यस्तै आलंकारीक हैसियतमा कुनै शक्ति र अधिकार नभएका मुखर्जीले नेपालको संविधान सबैलाई समेट्नेगरि अघि बढ्ने विश्वास भन्दै नेपालको संविधानमाथि गरेको टिप्पणीको समेत बिरोध भएको छ ।

आफ्नै देशको संविधान जारी भएको आधा सताब्दी सम्म सर्वत्र स्विकार्य नभइरहँदा अर्काको देशमा भएको संविधानको टिप्पणी गरेकोमा समेत आलोचना भएको छ ।

मुखर्जीले काठमाडौंमा छिटफुट बिरोध सामना गर्नुपरेपनि पोखरावासीले भने उनलाई स्वागत गर्न बनाएको गेट भत्काउनुका साथै उनी आउनुअघि आकाशमै कालो झण्डा उडाएर समेत बिरोध गरे ।
सामाजिक सञ्जालहरुमा भने मुखर्जी र भारतीय नीति र रबैयाको अझैपनि चर्को आलोचना र टिप्पणी भइरहेको छ ।