आज देखी छठ पर्व सुरु

Posted on: November 04, 2016 | views: 284

१९ कार्तिक, जनकपुर ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाईने छठ पर्व आज देखी प्रारम्भ भएको छ ।

कार्तिक शुक्ल चौथीदेखी सप्तीसम्म विभिन्न बिधि गरेर मनाईने छठ पर्वको पहिलो दिन आज ’नहाय खाय’ विधि गरिदै छ ।

सोमबारसम्म मनाईने छठपर्वको  तयारी सहित तराईका जिल्लाहरुमा केही दिन अघिदेखी नै सुरु भएको थियो । छठ पर्व सुरुवात सँगै गाउनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन् । संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् ।

पहिलो दिनको यो विधिलाई बोलीचालीमा ’नहाय खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन अर्थात शनिवार पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसेर राति सख्खरमा पकाईएको खिर मात्र खाएर ’खरना’ विधि सम्पन्न गर्नेछन् ।

यसैगरी आईतवार साझ र सोमबार उदाउँदो सुर्यको अर्घ दिई चार दिवसीय पर्व छठको समापन हुने छ ।

यसैगरी पर्वको मुख्य दिन मानिने पष्ठी तिथिका दिन बिहानै न्वाई ध्वाई गरेर व्रत बसेका ब्रतालुले साझ अस्ताउदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाश्यको पानीमा उभिएर अर्घ दिने गरिन्छ । मिथिलामा यो विधिलाई ’सझुका अरख’ भनिन्छ ।

झिलिमिली पारेर सजाइएको पानीघाटमै रातभरी जाग्रम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउदो सूर्यलाई अर्घ दिदा देखाइएका सामग्री देखाएर अर्काे अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिईने यो अर्घलाई भोरका अरख भनिने गरिएको छ ।

छठ पर्वका लागी पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक सँस्कृतिका जानकार बताउँछन ।

यस पर्वमा ढिकी जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाईएका ठकुवा,भुसवा,र अन्य मिष्ठान्न परिकार,माटाको भाडामा जमाईएको दही,उखुका लाक्रा र मौसमअनुसारका फलफूका सूर्यलाई अर्घ दिदाँ देखाईने चलन छ । ’भोरका अरख’ सम्पन्न भएसँगै ईष्टजनसँगै प्रसाद खाएर यो पर्व सम्पन्न गरिन्छ ।