राजधानीको तापक्रम शून्य डिग्रीमा झर्‍यो

Posted on: May 02, 2016 | views: 195

राजधानीको तापक्रम बिहीबार शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ८:४५ बजेको न्यूनतम तापक्रम ० डिग्री सेल्सियसमा झरेको हो ।

यो यस वर्षकै सबभन्दा कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो यही समयमा ०.९ डिग्री सेल्सियस थियो ।

महाशाखाका मौसमविद् मीन कुमार अर्यालले न्यूनतम तापक्रममा अझै गिरावट आउन सक्ने बताए। ‘अहिलेको मौसमी अवस्थामा परिवर्तन नआएसम्म न्यूनतम तापक्रम घट्दै जाने देखिन्छ,’ अर्यालले कान्तिपुरलाई भने, ‘माइनसमा पनि झर्न सक्छ ।’ बुधबार राजधानीको न्यूनतम तापक्रम ०.९ डिग्री रेकर्ड भएको थियो ।
 
अर्का मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार हिउँदमा राजधानीको तापक्रम माइनस २.६ डिग्रीसम्म झरेको रेकर्ड छ ।

बढदो वायु प्रदूषणका कारण वायुमण्डल धुमिल्लिएपछि सूर्यको किरण जमिनमा आउन पाएको छैन । ‘जमिन तात्न नपाएकाले चिसो अनुभव भएको हो,’ मौसमविद् श्रेष्ठले भने । मौसमविदका अनुसार कचौरा आकारको उपत्यकाको वायुमण्डलभरि प्रदूषण भरिएको छ । वायु नचलेको र पानी नपरेका कारण प्रदूषण एकै ठाउँमा थुप्रिएर बसेको छ ।

बिहीबार सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ८.४ डिग्री रेकर्ड भयो । डडेलधुरा, दिपायल र सुर्खेतमा पनि न्यूनतम तापक्रम क्रमश: १.५, १.४ र १.५ डिग्री रेकर्ड भएको छ । मुलुकका धेरैजसो भागको अधिकतम तापक्रममा समेत गिरावट आएको छ । अझै केही दिन मौसमी अवस्था यस्तै रहने महाशाखाले उल्लेख गरेको छ ।