तिहारको मूख्य दिन भाईटीका लगाईदै, ११ बजेर ५२ मिनेटमा उत्तम साइत

Posted on: October 31, 2016 | views: 500

१६ कार्तिक, काठमाडौं ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मूख्य दिन आज भाईटीका लगाईदैछ ।

भाईटीकाको अवसरमा दिदि बहिनीले दाजू भाईहरुलाई सप्तरंगी टिका लगाएर आशिर्वाद दिने गर्दछन् ।

आजको दिन घरघरमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाई सु-सवास्थ, दीर्घायूको कामना गर्दछन् ।

आज भाई टिकाको साईत विहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ तर साइतको समय तोकिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ ।

यम द्वितीया समेत भनिने भाईटीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ ।

भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाइलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र दुभोको माला गलामा लगाई दिई सप्तरंगी टीका निधारमा लगाई दीर्घायूको कामना गर्दछन् र दाजुभाइलाई जस्तोसुकै कष्टकर अवस्थामाथि कालको मुखबाट समेत बचाइ दिदीबहिनीले रक्षा गर्दछन भन्ने पौराणिक कथामा उल्लेख गरिएको छ । यो पाँच दिनसम्म यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाको घरमामा आराम गर्न र टीका लगाउन जान्थे भन्ने पौराणिक कथामा विश्वास गरिएको छ ।

यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गर्छन् । दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ ।

पाँच दिनसम्म आफ्ना दाजु यमराजलाइ सत्कार गरि भाइटिकाको दिन यमराजलाई बहिनी यमुनाजीले सप्तरंगी टीका लगाएर दाईं यमराजलाई धेरै परिकार मिठा भोजन गराएकी थिइन । यस कारण यस दिनलाई यम द्वितीया पनि भनिन्छ ।

दाजुभाईको निधारमा टीका लगाइएमा यमराजको कष्टबाटस बाचिन्छ भन्ने मान्यता छ ।