नेपाल सम्वत् ‘जागरण कालको इतिहास’

Posted on: October 31, 2016 | views: 328

१५ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संबत्को नयाँवर्ष आरम्भको अवसरमा दिनुभएको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

उहाँले नेपालीहरूको आफ्नै मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिने आशा व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको तीव्र गतिमा कार्यान्वयन गर्दै बलियो राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितका समृद्ध नेपाल निर्माण मुलुकको अहिलेको प्रमुख कार्यभार भएको बताउनु भएको छ ।

नेपाल सम्वत्को शुभ दिनले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना उपराष्ट्रपति पुनले दिनुभएको छ ।

नेपाल संवत् ११३७ मा प्रधानमन्त्रीको शुभकामना सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
    
प्रधानमन्त्रीले नेपाल संवत्को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनु भएको छ ।
    
गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको सन्देशमा उल्लेख छ ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सम्वत् ११३७ प्रारम्भ भएको खुसियालीमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ दिनले हरेक वर्ष हामी सबै नेपालीलाई यसका प्रणेता शंखधर साख्वाःको योगदानलाई सम्झाउँछ भन्नुभएको छ ।

संशोधनमार्फत नेपाल संवत्लाई संविधानमै स्थापित गरिने – प्रम

नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा राजधानीका तीनवटै जिल्लामा आयोजना गरिएका कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरीक हुनुभयो ।

काठमाडौँको बसन्तपुरमा  न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको “भिन्तुना सभा” लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधन गरेरै भए पनि नेपाल संवतलाई संविधानमा स्थापित गर्ने प्रतिबद्धता गर्नुभयो ।

नेपाल संवत् घोषणा मात्रै गर्नेभन्दा पनि त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न बुद्धिजीवी र सरोकारवाला सबैको उत्तिकै भूमिका हुने विचार प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।      
    
आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत असन्तुष्ट समुदायका अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्न सरकार बाहिर रहेका सबै राजनीतिक दलसँग छलफल भइरहेको र अब छिट्टै संविधान संशोधन गरिने उहाँले जानकारी दिनुभयो ।    
    
नेपाल संवत्लाई नेपालको मुद्रा तथा कागजी नोटमा अङ्कित गर्नुपर्ने, विद्यालय तथा महाविद्यालयस्तरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवतको विषयमा पठनपाठन गराउनुपर्नेलगायत न्हूँद रािष्ट्रय समारोह समितिले राखेका मागलाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेसमेत उहाँले विश्वास दिलाउनुभयो ।
    
नेपाल सम्वत ११३७ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।   

विहानै राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले भक्तपुरको थिमिस्थित शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधरको  प्रतिमामा माल्र्यार्पण गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि प्रतिपक्षसामु आफू लचिलो हुन तयार रहेको बताउनुभयो ।