आज गोवर्धन पूजा, म्हः पूजा र नेपाल संवत पनि आजै

Posted on: October 31, 2016 | views: 358

१५ कार्तिक, काठमाडौं ।
महान चाड तिहारको चौथो दिन आज अन्न उब्जाउमा सहयोगी रहेको गोरुको पूजा आजा र मिष्ठान्न खुवाएर गोवद्र्धन पुजा गरिंदैछ ।

गोरुको पूजा गरिने भएको हुँदा यस पर्वलाई गोरु तिहार पनि भन्ने गरिन्छ । मूख्यतया पहाडी क्षेत्रमा खेतबारी जोत्ने र तराईका जिल्लामा गाडा तान्ने काममा पनि गोरुको प्रयोग गर्ने गरिन्छ ।

बर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्ने गोरूलाई मानव जिवनको सहयोगी जनावरको रुपमा हेर्ने गरिन्छ ।

सयपत्री लगायत अन्य फुलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी ९बाबर० पकाएर खान दिइने चलन रहेको छ ।

गोरु पूजागर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाईदिने गरिन्छ ।

आज गोबरलाई गोबर्धन पर्वतको प्रतीकका रुपमा गोबर्धन पूजा गरिन्छ । गोवर्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । पौराणिक कथा अनुसार गोबर्धन पर्वतमा ग्वालाहरूसंगै भगवान कृष्ण पनि बस्दथे । ग्वालाहरू देवराज इन्द्रको पूजा गर्दथे, तर जति भक्ति गरेपनि उनीहरूले इन्द्रबाट केहि पाउँदैनथिए ।

गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा किन गर्नु भनि श्रीकृष्णले एकदिन गोकुलवासीहरुलाई भनेपछि उनीहरुले पनि पूजा गर्न छाडे । बरु इन्द्रको साटो उनीहरुले खनिज, घाँस, पानी र दाउरा दिने गोबर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टा गोबर्धन पर्वतको पूजा हुन थालेपछि इन्द्रले पनि रिस थाम्न नसकि गोकुलमा भिषण असिना पानीको बर्षा गराईदिएपनि कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीको कल्याण गरेको धार्मीक कथन रही आएको छ ।

गोबर्धन पूजा सकिएपछि हिजोबाट भैलो खेल्न थालेकाहरुले आजबाट देउसी खेल्ने गर्दछन् ।

देउसीमा नाचगान गरी घरघरबाट दक्षिणा भेटी माग्दै आर्शिवाद दिने चलन छ । देउसी भैलो खेल्ने प्रचलन बली राजाको पालादेखि शुरु भएको भनाई छ ।

तिहार पर्व देउसीकै कारण पनि लोकप्रिय बनेको हो । देउसेहरुले परम्परागत भेषभूषा लगाएर बली राजाका प्रतिनिधिका रुपमा विभिन्न देवकथा, उपकथा, शुभवचनहरु भट्याउँदै नाचगान गर्दछन् र श्रद्धापूर्वक प्राप्त गरेको दान दक्षिणा ग्रहण गर्दछन् ।

यसैगरि कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायमा भने म्ह ः पूजा गरेर धुमधामका साथ मनार्इदैछ ।

नेवार समुदायले आफ्नै शरीरको पूजा सहित म्ह पूजा गरिँदैछ । हरेक वर्ष नेपाल संवत अनुसार कछलाथ्व पारु तदअनुसार कात्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार समुदायले आफ्नै शरिरको पूजागरी सगुन लिन्छन ।  

परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँसको फुल सगुन दिने प्रचलन छ । यो पर्वमा अन्नप्राशन संस्कार सकिएका बालबालिकादेखि सबैलाई समावेश गरिन्छ ।

आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ आत्मा अर्थात म्ह पूजा गरिँदै आएको धार्मिक मान्यता छ ।

आजदेखि नेपाल सम्वत् ११३७ सुरु


नेपाल सम्वत् ११३७ आज नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

सामान्य ब्यापारी शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाले जनताको ऋण मोचन गरी स्थापना गरेको सो संवत् विश्वमै देशका नाममा स्थापित एक मात्र संवत् हो । नेपाल सरकारले नेपाल संवत् ११२९ मा सो संवत्लाई राष्ट्रिय संवतको औपचारिक मान्यता प्रदान गरिसकेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायत काठमाडौं उपत्यकाको तीनै सहर र उपत्यका बाहिर समेत नेपाल सम्वतको नयाँ वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

नेपाल संवतले ८८८ सम्म राष्ट्रिय सम्वतको मान्यता पाई आधिकारिकता पाएको थियो । तर विसं १९६० देखि भने नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिन छोडिएको थियो । राणा शासन अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चल्दै आएको छ ।

नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।