भारतीय राष्ट्रपतिको लागि यस्तो तयारी

Posted on: October 30, 2016 | views: 173

१४ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले सरसफाई र सौन्दर्यीकरणको कामलाई तीब्र बनाएको छ ।

तयारी स्वरुप महानगरपालिकाले बानेश्वर, चावहिल, गौशाला, लैनचौर, कालिमाटीलगायतका स्थानको सडक छेउमा रङ लगाउने र सफा गर्ने काम तीब्ररुपमा भइरहेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यही कात्तिक १८ गते राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।  अभिनन्दन कार्यक्रमकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

पशुपतिनाथमा भारतीय राष्ट्रपतिको विशेष पूजाको तयारी

इता पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गर्नुहुने विशेष पूजाको लागी  तयारी शुरु भएको छ ।  

यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएपछि तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।


भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा सवारी आवागमन रोकिँदैन – प्रहरी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेलाा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको बताउनुभयो ।

उहाँले भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिने बताउनुभयो ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५/१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोही अनुरुप यात्रा तय गर्न सबैसँग उहाँले आग्रह गर्नुभयो । 
त्यस्तै, १०३ मा फोन डायल गरेर सवारी चापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था मिलाइएको पनि प्रहरीले जनाएको छ ।