लोकमानको घरमा सूचना टाँस्ने तामेलदार एकाएक गायब

Posted on: October 06, 2016 | views: 510

२१ असोज, काठमाडौं ।
सर्वोच्चले सुचना टांस्दै उपस्थित हुन आदेश दिनेभएपछि त्यसबाट बच्न बिदेश घुम्न गएका बिवादिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा सुचना टांस्न खटाएका तामेलदार नाटकिय रुपमा गायब भएका छन् ।

कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन म्याद तामेली गर्ने प्रयास पहिलो पटक भाडाको घर भएका कारण जनाउँदै रोकिएकोमा यसपटक सूचना बोकेका सर्वोच्च अदालतका कर्मचारी आफैँ रहस्यमय ढंगले बेखवर लुकेका छन् ।

पत्र बोकेका सर्वोच्चका तामेलदार शम्भु खत्री मोबाइल समेत बन्द गरेर सम्पर्कमा नआएपछि म्याद तामेली गर्ने प्रयास असफल भएको हो ।

उनी बुधबार म्याद तामेलीका लागि बानेश्वरको रोहिणीमार्गस्थित कार्की निवासमा पुगेका थिए । सुरूमा वडा नम्बर १० का सचिवले सहयोग गरेनन् । पछि सर्वोच्चको टोली उक्त घर भाडामा लगाइएको पाएपछि घरधनी नबसेको घरमा सूचना टाँस्न नमिल्ने भन्दै फर्किएको थियो ।

त्यसपछि अख्तियारमा नै सूचना टाँस्ने तयारी थियो । तामेलदार विहान सवा १० बजे सम्पर्कमा आएपनि त्यसको एक डेढ घन्टा सम्पर्कमा रहेका उनी आउँछु आउँछु भन्दै नआएर मोबाइल अफ गरेर साँझ ५ बजेसम्मपनि गायब भएपछि लोकमानलाई सर्वोच्च हाजिर हुन सुचना टाँस्नुपर्ने काम रोकिन गएको छ ।

सर्वोच्चले अख्तियार प्रमुख कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने आदेश गरेअनुसार उनलाई हाजिर गराउन यो सूचना टाँस्न लागिएको हो ।

लोकमानले सूचना छल्न खोजेपछि सर्वोच्चले घरमै सूचना टाँस्न तामेलदार खत्रीसहितको टोली खटाएको थियो ।

म्यादको पत्रमा निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ । यस्तो सूचना गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नुपर्ने नियम छ ।

तर, तामेलदार नै सम्पर्कविहीन भएपछि अन्यौल देखिएको छ । यदि घर नभेटिएको भए सञ्चारमाध्यममा सूचना जारी गर्न सकिन्थ्यो ।
तर, अहिले तामलेदार नै सम्पर्कविहीन भएपछि अदालतका कर्मचारीनै अख्तियारको दबावमा परेको वा राजनितिक दवाव परेको ठानिएको छ ।

आफैं भ्रष्ट आरोप खेपेका राजाको निगाहबाट सरकारी जागिर खाएर मूख्य सचिव बनेका लोकमान सिंह कार्कीलाई हालका प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेकै उच्चस्तरिय राजनीतिक संयन्त्रले अख्तियार प्रमूखमा सिफारिस गरेको थियो ।

पछिल्लो समय माओवादी लडाकु शिविरमा भएको अर्बौंको भ्रष्टाचार छानविन गर्ने बताएर आफुमाथि सर्वोच्च अदालतले गर्न लागेको कारवाही टार्न लागि परेका कार्कीलाई बचाउन प्रधानमन्त्री पुष्पकमल दाहालनै लागेको राजनीतिक विश्लेषकहरु बताउँछन् । आफुले कार्कीलाई नबचाए लडाकुको नाममा भएको अर्बौं रकम घोटाला छानविन भएर कारवाही हुने भएका कारण पनि प्रधानमन्त्री दाहाल उनको बचाउको लागि लागि परेको बताइन्छ ।