अनशन स्थगित गर्न डा केसीलाई स्वास्थ्य मन्त्री थापाको आग्रह

Posted on: October 06, 2016 | views: 138

२० असोज, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले,  एघारदिनदेखि अनसनमा बस्नु  भएका डा गोविन्द केसीलाई अनसन स्थगित गर्न पुनः आग्रह गर्नु भएको छ ।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा केसीले उठाउनु भएको मुलभुत विषयलाई सम्बोधन गर्ने तयारीमा सरकार रहेको भन्दै मन्त्री थापाले हाललाई अनसन स्थगित गर्न डा केसीलाई आग्रह गर्नु भयो ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित  पत्रकार भेटघाट कार्यक्रममा उहांले, डा केसीको अनसनकै कारण स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको र संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक पनि त्यसकेै परिणाम भएको बताउनु भयो ।

मन्त्री थापाले कुनै पनि स्वास्थ्य संस्थाका प्रमुखले निजी अस्पताल वा क्लिनिकमा काम गर्न नपाउने,  आधारभुत स्वास्थ्य सेवा सम्बन्धी छाता ऐन तीन महिना भित्र मन्त्रिपरिषदमा पेश गरिने, अस्पतालहरुमा अबदेखि पांचबजेसम्म बहिरंग सेवा संचालनमा ल्याउन परिपत्र गरिएको,  रिक्त रहेको विशेषज्ञ चिकित्सकको पदपुर्ति तीन महिना भित्र गरिने जानकारी दिनु भयो ।

उहांले आफ्नो कार्यकालमै हरेक नेपालीको स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने  त्यसको लागि आवश्यक विधेयकको मस्यौदा अन्तिम तयारीमा रहेको जानकारी दिनु भयो ।

स्वास्थ्य मन्त्री गगन थापाले मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत  वरिष्ठ चिकित्सक तथा संस्थालाई सम्मान गर्नु भयो ।

विश्व मानसिक स्वास्थ्य दिवशको उपलक्ष्यमा प्रथम पाइला नेपालले आयोजना गरेको कार्यक्रममा मनोचिकित्सकहरुले शारीरिक स्वास्थ्यलाई जस्तै मानसिक स्वास्थ्यको उपचार गाउंगाउंमा पुग्ने व्यवस्था गर्न सरकारसंग माग गर्नु भयो ।