भारतद्धारा पुन अघोषित नाकाबन्दी सुरु !

Posted on: October 06, 2016 | views: 3438

२० असोज, काठमाडौं ।
भारतले अघोषित रुपमा नेपालमाथि पुन नाकाबन्दी लगाउन सुरु गरेको छ ।

कथित मधेश आन्दोलनका नाममा भारतले लगाएको नाकाबन्दीलाई सघाउन गरिएको समयमै जस्तोगरि भारतले नेपाल आउने सवारी साधनहरुलाई अवरोध गर्न थालेको छ ।

कुहिने र खेर जाने तरकारी र फलफुलका गाडीलाई नाकाबन्दीमा सरासर नेपाल पठाएको भारतले अहिले फेरी त्यसैगरि अन्य सवारी साधनलाई लाइनमा हप्तौंसम्म राखेर त्यस्ता गाडी नेपाल पठाउन थालेको छ ।

सुनौली नाका हुँदै मुलुक प्रवेश गर्ने औद्योगिक र व्यापारिक मालवाहक गाडीलाई भारतीय सुरक्षाकर्मीले अवरोध गर्न थालेका छन् ।

सिमादेखि करिब १५ किलोमिटर पर सडकमा तैनाथ भारतीय प्रहरीले नेपाल आउने गाडीलाई सहज रूपमा आउन नदिएर रोक्दै लाइनमा लगाउन थालेका हुन् ।

मालवाहक गाडीलाई १५ किमि दूरी पार गर्न ५ दिनसम्म लाग्न थालेको छ । केही दिनअघि सीमावर्ती नेपालको बेलहियामा आयोजित दुई देशका सीमावर्ती उच्च सुरक्षा अधिकारीसहितको बैठकमा नेपाली पक्षले यस बारेमा कुरा राख्दा भारत महाराजगन्ज जिल्लाका जिल्लाधिकारी डीएम बिरेनकुमार सिंहले यो समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको बताएपनि समाधानको कुनै लक्षण देखिएको छैन ।

‘चालकले भारतीय प्रहरीलाई पैसा दिएमा गाडी चाँडै आउन दिने गरेको र नत्र चेकजाँच चलिरहेको छ भन्दै त्यसै दुख दिन थालेको छ ।

भारतीय प्रहरीले फलफूल, तरकारीजस्ता चाँडै सडेर नष्ट हुने सामानका गाडीलाई भने रोक्ने गरेका छैनन् । सुनौली हुँदै नेपाल आउने मालवाहक गाडीलाई भारतीय पुलिसले यस्तै अवरोध भारतको नाकाबन्दी र नेपालको मधेस आन्दोलनको बेलामा गरेका थिए । त्यसबेला दैनिक १ सय गाडी मात्र नेपाल आउने कोटा छुट्याएर उनीहरूले पैसा असुल्ने गरेका थिए ।

भैरहवा भन्सार कार्यालयका अनुसार अन्य दिन सहज भएको बेलामा दैनिक साढे ४ सयसम्म मालवाहक गाडी आउने गरेकामा यो अवरोधले दैनिक २ सयको हाराहारीमा मात्र गाडीहरु नेपाल आउन पाएका छन् ।

भारतीय प्रहरीको यो अवरोधले सुनौली नाकाबाट आउने गाडीले रुट परिवर्तन गरी अन्य नाकाको प्रयोग गर्न थालेका छन् । यसबाट नेपालीहरुको महान चाड दशैंको समयमा नेपाल आउँदै गरेको अत्यावश्यक सामानहरुको अभाव बढ्नुका साथै महंगी बढ्ने संभावना देखिएको छ ।

केपी ओली सरकारको समयमा भएको भारतीय नाकाबन्दीमा जनताले एकजुट भएर सरकारलाई साथ दिएपनि हाल भारतसँग सम्वन्ध सुधार भइरहेको बताएको पुष्पकमल दाहाल प्रचण्ड सरकारको समयमा भइरहेको अघोषित नाकाबन्दीको थालनीले भारतले नेपालमाथिको हेपाहा प्रवृत्ति नबदलेको देखिएको छ ।