गृहमन्त्रीकै सामुन्ने आइजिपिले सरकार प्रहरीको अभिभावक बन्न नसकेको बताए

Posted on: October 06, 2016 | views: 439

२० असोज, काठमाडौं ।
नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री बिमलेन्द्र निधिकै अगाडी सरकार नेपाल प्रहरीको समयानुकुल अभिभावक बन्न नसकेको बताएका छन् ।

कैलाली घटनामा प्रहरीको विभत्स हत्या गर्नेहरुलाई छाड्न दबाव दिंदै आएका गृहमन्त्री निधिकै सामुन्ने प्रहरी दिवसको अवसरमा आयोजित बिशेष समारोहमा बोल्दै आइजिपि अर्यालले भौतिक संरचना मात्र नभई अभिभावकत्व दिन सक्नुपर्ने बताए ।

सहीद परिवारबारे बोल्दै आइजीपी अर्यालले बिभिन्न कालखण्डमा प्रहरी सेवामा रहेर ज्यान गुमाउने प्रहरीका आश्रति परिवारलाई साथ दिन नेपाल प्रहरीको संगठन प्रमुखको हैसियदले सधै अडिग रहने समेत बताए ।

आइजिपि अर्यालले इतिहासलाई मुल्यांकन गरेर मात्रै प्रहरी संगठन चल्न नसक्ने बताउँदै सरकारले समयानुकुल रुपमा प्रहरीको अविभावकको रुपमा काम गर्नुसक्नुपर्ने बताए ।

सो कार्यक्रममा बोल्दै गृहमन्त्री बिमलेन्द्र निधीले संविधान संशोधन गरेर तीन तहको चुनाव गराउने अहिलेको सरकारको दायित्व भएको भन्दै सरकारको प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।

६१औं प्रहरी दिवसको उपलध्यमा प्रहरी हेडक्वार्टर नक्सालमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री निधीले कर्तव्य पालनाको शिलशिलामा सहीद भएका प्रहरीको आश्रति परिवारलाई उचित सहयोग गर्न जरुरी रहेको बताए ।