भारतबाट फर्कन नपाउँदै न्यूयोर्क उड्दै प्रधानमन्त्री प्रचण्ड

Posted on: September 18, 2016 | views: 410

२ असोज, काठमाडौं ।
चर्को आलोचना खेपिरहेका विवादीत सहमती गरेर स्वदेश फर्कन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्क उड्ने भएका छन् ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन भोली ठूलो दलबल सहित अमेरिका उड्ने भएका हुन् ।

प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्टप्रमुख तथा सरकार प्रमूखसँग भेट्ने बताइएपनि यसबारे खुलाइएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी रहेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल रहेको टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मालाई पनि अमेरिका लगिंदैछ ।

परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत अटाइएको टोलीमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले अमेरिकामा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव वान किमुनसँग विशेष भेटवार्ता गर्ने बताइएको छ ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघका महासचिव वानले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनेछन् ।
साथै न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले राष्टसंघ महासंभामा सहभागी देशका प्रमुखको सम्मानमा महासचिव वान र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

महासभाको अवसर पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा महत सहभागी हुनेछन् ।

नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अति कमविकसित, विकासशील, जी–७७ तथा अन्य साझेदारसँग दिगो विकास लक्ष्यपछिका विकास एवम् जलवायु परिवर्तनलगायतका विषयमा विभिन्न तहमा छलफल गर्ने र अनुभव आदानप्रदान गर्ने बताइएको छ ।

जलवायु परिवर्तनको असरबाट नेपाललगायतका मुलुकले भोग्नुपरेको समस्या, हिमालय पर्वतदेखि तटीय क्षेत्रका मुलुकसम्म आइपरेको समस्या र त्यसबाट आइपर्नसक्ने सम्भावित क्षतिलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्तासहितको एकीकृत कार्यक्रमका पक्षमा आफ्नो धारणा  राख्ने तयारी गरिएको छ ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत आइतबारै नयाँ दिल्लीबाटै न्युयोर्क उडिसकेका छन् ।
गत मंगलबार सुरु भएको राष्टसंघ महासभा १० दिनसम्म न्यूयोर्कमा चल्नेछ ।